राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले काठमाडौं–६ बाट उम्मेदवारी दर्ता गराएका छन्।
यसअघि खनालले काठमाडौं–६ बाटै चुनाव जितेका थिए।
पूर्वशिक्षा मन्त्रीसमेत रहेका खनालले महिला उद्यमी शैलेजा कसजुको प्रस्ताव र तारकेश्वरका युवा अभिषेक थापाको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्।
थापा गत भदौ २३ गतेको जेनजी आन्दोलनका घाइते पनि हुन्।
‘आज मेरो उम्मेदवारीको प्रस्तावक र समर्थक नै परिवर्तनका संवाहक हुनुहुन्छ। अभिषेकजीले सडकमा बगाएको रगत र शैलेजाजीले उद्यममार्फत देखाउनुभएको साहसलाई खेर जान दिने छैनौं। राष्ट्रिय स्वतन्त्र पार्टी अब बालेन शाहको नेतृत्वमा देश हाक्न तयार छ। हामी काठमाडौं– ६ बाटै देशको नयाँ अध्याय सुरू गर्नेछौं,’ उनले भने।
आफूले यस निर्वाचनमा काठमाडौं–६ का जनताले सुम्पेको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने उनको भनाइ छ।
‘शिक्षा, सुशासन र काठमाडौं ६ को समग्र विकासका लागि सुरू गरिएका अधुरा कामहरूलाई पूर्णता दिन र संसदमा सशक्त आवाज उठाउन मेरो उम्मेदवारी रहेको छ। यहाँका मतदाताको माया र विश्वासले मलाई फेरि पनि सेवा गर्ने अवसर प्राप्त हुनेमा म पूर्ण विश्वस्त छु,’ उनले भनेका छन्।