आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ।
मंगलबार सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। उक्त प्रस्ताव अन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो।
यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ।
गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न पाउने छ।
भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ। सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई २ हजार ४ सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ।
–न्युज एजेन्सी नेपाल