काठमाडौं निर्वाचन क्षेत्र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। श्रेष्ठ शुभेच्छुक र मतदातालाई लिएर मनोनयन दर्ता गर्न पुगेका थिए।
श्रेष्ठले उक्त क्षेत्रमा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका उनी केही महिना युवा तथा खेलकुदमन्त्री भएका थिए।
श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–८ का नागरिकका गुनासा तथा सुझाव व्यवस्थित र प्रभावकारी रूपमा संकलन गर्न डिजिटल दर्ता प्रणाली थालेका थिए। यसैगरी सांसद र मन्त्री हुँदा आफूले गरेका कामको विवरण प्रकाशन गरी उनले मतदातामाझ छलफल गरेको बताएका छन्।
जबाफदेही राजनीतिले मात्रै नागरिकप्रति विश्वास जित्न सकिने उनको भनाइ छ।
उक्त क्षेत्रमा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ र नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा रहेका छन्। काठमाडौंको सहरको प्राचीनता झल्काउने मात्र नभई नेपाल राज्यको विश्वव्यापी परिचय दिलाउने स्वयम्भूनाथ, काष्ठमण्डप जस्ता सम्पदा पनि यसै क्षेत्रमा पर्छन्। श्रेष्ठ सम्पदा संरक्षण जोगाउ अभियानमा सक्रिय व्यक्तित्व हुन्। उनी भन्छन्, ‘हाम्रो धरातल भनेकै यिनै सम्पदा हुन्। यिनलाई जोगाउन सकेमात्र हाम्रो अस्तित्व जोगिन्छ।’
अघिल्लो चुनावमा उनी १० हजार १ सय ५ मत ल्याई निर्वाचित भएका थिए। त्यति बेला श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका थिए। पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका थिए।