दुई साता पहिले नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री तथा पूर्वसांसद वृजेशकुमार गुप्ताले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका छन्।
अन्तिम समयमा आएर नेपाली कम्युनिस्ट पार्टी नेकपाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट टिकट दिएपछि उनले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा धर्मबहादुर श्रीवास्तव र समर्थकमा रामदास चौधरी रहेका छन्।
गुप्ताले गएको पुस २२ गते नेकपा एमाले परित्याग गरेका थिए। त्यसपछि विभिन्न दलमा प्रवेशका लागि छलफल चलाएका थिए।
२०५६ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा सुरू गरेका गुप्ता विभिन्न पार्टीबाट कपिलवस्तुबाट चार पटक संघीय सांसद जितिसकेका छन्।
राप्रपाबाट तमलोपा हुँदै २०७४ सालमा एमालेमा प्रवेश गरेका गुप्ता २०७४ मा कपिलवस्तुको नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। सोही क्षेत्रबाट २०७९ मा पनि उम्मेदवार भएका उनी काँग्रेस नेता सुरेन्द्रराज आचार्यसँग पराजित भएका थिए।