अजयक्रान्ति शाक्यले काठमाडौं क्षेत्र नम्बर–९ वाट उम्मेदवारी दर्ता गरेका छन्। उनले मंगलबार चन्द्रागिरि नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
उनले दिउँसो १ बजेर पाँच मिनेटमा उम्मेदवारी दर्ता गराएको एमालेले जानकारी दिएको छ। उम्मेमदवार शाक्यसँगै निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद केशव पोखरेललगायत पनि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीको समेत जिम्मेवारीमा रहनु भएका शाक्य २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ (क) बाट विजयी भएका थिए। बौद्धदर्शनमा विद्यावारिधि गरेका शाक्यले त्यतिबेला ९ हजार ५ सय ३१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका इन्द्रमान तुलाधरको ७ हजार १ सय ९१ मत आएको थियो। त्यतिबेला २२ हजार ८५ मतदाताले सो क्षेत्रबाट मतदान गरेका थिए। २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ को (ख) बाट पनि एमालेकै उम्मेदवार केशव पोखरेल विजयी भएका थिए।
२०७९ को निर्वाचनमा भने शाक्य उम्मेदवार बनेनन्। २०७९ को निर्वाचनमा पनि काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये ९ मा मात्रै एमाले विजयी भएको थियो। त्यतिबेला एमालेका तर्फबाट कृष्णगोपाल श्रेष्ठ ११ हजार ९ सय ५६ मतसहित विजयी भएको थिए। यो पटक सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपाध्यक्ष डिपी अर्याल, नेपाली कांग्रेसका तर्फबाट नानु बास्तोलालगायतले प्रतिस्पर्धा गर्दैछन्।