आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
तीन जनामध्ये एक जना मात्रै महिला उम्मेदवार छन्।
पर्सा क्षेत्र नम्बर १ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिश्वा बस्ने आर्य शशिकला राउतले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।
यहाँ नेपाली कांग्रेसले संविधानसभा सदस्य एवं व्यवसायी अनिल कुमार रूंगटा, जनता समाजवादी पार्टी (जसपा) ले रामनरेश प्रसाद यादव, नेकपा एमालेले पूर्वमन्त्री प्रदीप यादव र जनमत पार्टीले ओमप्रकाश सर्राफलाई अघि सारेको छ।
ओमप्रकाश र रामनरेश अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उम्मेदवार थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुद्धि प्रसाद पन्त (हरि) लाई उम्मेदवार बनाएको छ। रास्वपा पर्साका अध्यक्षसमेत रहेका उनी होटल तथा पर्यटन व्यवसायी हुन्।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट अजय चौरसियाले मनोनयन दर्ता गरेका छन्।
२०६९ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट दोस्रो पटक पूर्वमन्त्री प्रदीप यादवले बाजी मारेका थिए। उनी पछिल्लो मधेस आन्दोलनबाट उदाएका नेता हुन्।
२०७९ सालको निर्वाचनमा उनी २२ हजार ५ सय ३७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। निर्वाचनको समयमा उनी जसपा नेपालमा थिए। जसपा नेपालसँग चुनावी तालमेल गरेका कारण एमालेले त्यति बेला उम्मेदवार उठाएको थिएन। २०८१ वैशाखमा पार्टी फुट्दा प्रदीपले अशोक राईलाई साथ दिँदै जनता समाजवादी पार्टीमा गएका थिए।
प्रदीप यादव एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए। त्यसअघि उनी वन तथा वातावरण तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। उनी दुई दिनअघि मात्रै नेकपा एमाले प्रवेश गरेका हुन्।
२०७९ सालमा निकटतम प्रतिद्वन्द्वी अजय कुमार द्विवेदीले २० हजार ९ सय १७ मत ल्याएका थिए। स्वतन्त्र उम्मेदवारी दिएका उनी नेपाली कांग्रेसका नेता हुन्।
पार्टीले टिकट नदिएकोमा अचम्मित भएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्।
'जिल्लामा साख, पार्टीमा संगठन अनि क्षेत्रमा सहयोग हुँदाहुँदै नेपाली कांग्रेस पार्टीले मलाई उम्मेदवार नबनाएकोमा अलि अचम्मित त पक्कै पनि छु। तर देश र पार्टीमा पुस्तान्तरण र परिवर्तनका लागि उठेका ती आवाज सुन्दा पक्कै पनि यो पालि नउठ्ने निर्णय समयसापेक्ष नै ठहरिन्छ जस्तो लाग्छ,' उनले भनेका छन्।
पार्टीको आधिकारिक उम्मेदवार अनिललाई सघाउने प्रतिबद्धता पनि उनले जनाएका छन्।