नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चावीच बागलुङका दुइटा निर्वाचन क्षेत्रमध्ये एक–एक वटा क्षेत्र लिने गरी चुनावी तालमेल भएको छ। बागलुङ– १ मा जनमोर्चाको कृष्णप्रसाद शर्मा अधिकारी र बागलुङ– २ मा नेकपाको ज्ञामनाथ गैरे ‘अनिल’ लाई सहयोग गर्ने गरी तालमेल भएको हो।
२०७९ को निर्वाचनमा पनि उक्त क्षेत्रहरू तत्कालीन माओवादी केन्द्र र जनमोर्चाले पाएको थियो। उक्त निर्वाचनमा ५ दलीय गठबन्धनमा समावेश भएर माओवादीका तर्फबाट देवेन्द्र पौडेल र जनमोर्चाका तर्फबाट चित्रबहादुर केसीले चुनाव जितेका थिए।
प्रतिनिधी सभाको उक्त क्षेत्रमा गठबन्धन भएपछि नेपाली कांग्रेसले पनि उनीहरुलाई समर्थन गर्दै उम्मेदवार उठाएको थिएन।
अहिले पनि जनमोर्चाको केसीले जितेको ठाउँमा अधिकारीलाई र तत्कालीन माओवादीका पौडेलले जितेको क्षेत्रमा अनिललाई उम्मेदवार बनाएर समर्थन गर्ने सहमति भएको जनमोर्चाका केन्द्रिय सल्लाहकार अमर थापाले बताए।
‘बागलुङमा विगतका चुनावहरुमा पनि माओवादी र हाम्रोवीच गठबन्धन थिया । अहिले पनि विगतकै परम्परालाई निरन्तरता दिएको हो,’ थापाले भने, ‘गठबन्धन गरेपछि परिणाम निकाल्न पनि सजिलो हुन्छ।’
जनमोर्चाबाट उम्मेदवार बनेका अधिकारी अखिल छैठौंका पूर्व अध्यक्ष एवं हाल केन्द्रिय सदस्य हुन्। नेकपाबाट उम्मेदवार बनेका ज्ञामनाथ गैरे ‘अनिल’ पार्टीको केन्द्रिय सदस्य हुन । माओवादी युद्धकै बेला भूमिगत भएर राजनीति गरेका अनिल पार्टीको गण्डकी प्रदेश कमिटीका पूर्व उपाध्यक्ष पनि हुन्।
पार्टीले केन्द्रबाट नै बागलुङमा जनमोर्चासँग तालमेल गर्ने गरी सहमति गरेर जिल्लामा पठाएको उम्मेदवार अनिलले बताए। एजेण्डा र विषयवस्तु मिल्ने भएकाले पनि जनमोर्चासँग सहकार्य गर्न सजिलो भएको उनले बताए।
‘पार्टी केन्द्रबाट नै बागलुङमा जनमोर्चासँग तालमेल गर्ने सहमति भएर आएको हो, यहाँ हामीले गरेको होइन,’ उनले भने, ‘विगतदेखि नै सहकार्य गर्दै आएको र एजेण्डा मिल्ने हिसाबले पनि सहकार्य गरेका हौं।’
देशभर राजनीतिक दलहरु एक्लाएक्लै निर्वाचन लड्ने भन्दै मंगलबार मनोनयन दर्ता गरे पनि बागलुङमा पनि यी दुई दलले गठबन्धन गरेका हुन्। जनमोर्चाका अधिकारी उम्मेदवार भएको बागलुङ– १ मा नेकपाले उम्मेदवार उठाएको छैन भने नेकपाका उम्मेदवार अनिल रहेको बागलुङ– २ मा जनमोर्चाले उम्मेदवार उठाएको छैन।
दुइटा निर्वाचन क्षेत्र रहेको बागलुङमा अन्य दलहरुले पनि एक्लाएक्लै चुनाव लड्ने लक्ष्यसहित उम्मेदवारी दिएका छन्। बागलुङ– १ मा कांग्रेसबाट भीमबहादुर श्रीस, एमालेबाट हिराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चित्रप्रसाद सापकोटा, रास्वपाबाट सुशील खड्का लगायत उम्मेदवार छन् भने बागलुङ– २ मा नेपाली कांग्रेसबाट टेकराज पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसे, प्रगतीशील लोकतान्त्रिक पार्टीबाट पदम कुँवर, रास्वपाबाट सोम शर्मा लगायतले उम्मेदवारी दिएका छन्।
निर्वाचन कार्यालयका अनुसार बागलुङमा विभिन्न राजनीतिक दलबाट २३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।