सल्यानमा दुई स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र रूपमा धुर्वराज वली र जुद्धबहादुर सिंहले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सल्यानमा १४ वटा विभिन्न राजनीतिक दलहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द, नेकपा (माओवादी) का चन्द्रबहादुर खड्का, नेसनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोषकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिशा नेपाली, नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट बाँलसिंह घर्ती, आम जनता पार्टीका मानसिंह कामी र स्वतन्त्र नागरिक पार्टीका कालिदास विक, श्रम संस्कृति पार्टीका धनबहादुर बुढा मगरले ले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसबाट जिल्ला सभापति केशबहादुर विष्ट, नेकपा (एमाले) का कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, नेपाली कम्युनिष्ट पार्टीका युवा रमेशकुमार मल्लले उम्मेदवारी दर्ता गराएका छन्।
मल्ल तत्कालीन नेकपा (माओबादी केन्द्र)को विद्यार्थी संगठन अखिल –क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष हुन्।
मल्ल पहिलो पटक निर्वाचनमा होमिँदै छन्।
कांग्रेसका विष्ट जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुन्।
अघिल्लो स्थानीय तहको निर्वाचनका क्रममा उनी छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा भिडे पनि पराजित भएका थिए।
एमालेका शाह गत संसदीय निर्वाचनमा पराजित भएका थिए। तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वाला निर्वाचित भएका थिए। त्यतिखेर कांग्रेस, तत्कालीन माओवादी, नेकपा एसका बीचमा चुनावी तालमेल थियो।
तर शाह २०७४ सालमा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। सल्यानबाट उम्मेदवारी दर्ता गरेकामध्ये युवा ललितकुमार चन्द रास्वपा कर्णालीका महामन्त्री हुन्। उनको राजनीतिक पृष्ठभूमि पूर्वमाओवादी हो।
पुराना दल र नयाँ तथा उदाउँदै गरेका पार्टीका युवाहरू बीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ।
सल्यानका लोकप्रिय नेता ज्वालाले टिकट नपाएपछि यो पटक कसले बाजी मार्ला भनेर अड्कल बाजीहरू हुन थालेका छन्।
कांग्रेसका विष्टको राम्रो सम्भावना रहे पनि युवालाई टिकट नदिएको असन्तुष्टि चुलिँदो छ।