राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र प्रारम्भिक निर्वाचनबिना पार्टीले गरेको यो उम्मेदवार छनोट पहिलो र अन्तिम बनोस् भन्दै टिप्पणी गरेका छन्।
दाङ–२ मा उम्मेदवारी दर्तापछि सहमहामन्त्री आचार्यले रास्वपा विधिमार्फत नै अगाडि बढ्नुपर्ने बताएका हुन्।
‘विभिन्न कारणले पार्टीले उम्मेदवार छनोट रूपरेखा अन्तर्गत रहेर उम्मेदवार छनोट गर्न सकेन। लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र प्रारम्भिक निर्वाचनबिना पार्टीको यो पहिलो र अन्तिम उम्मेदवार छनोट गरिएको निर्वाचन बनोस्। जति जनाले आकांक्षा राखे पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा पार्टीले उठाउन सक्ने भनेको १६५ जना उम्मेदवार मात्र हो,’ उनले भनेका छन्।
नेतृत्वले यदि कहीँ कतै त्रुटि गरेको छ भने त्यसबाट पार्टीले पक्कै पनि पाठ सिक्ने उनले बताएका छन्।
‘ती त्रुटिहरूलाई भविष्यमा पक्कै पनि दोहोराउने छैन। अहिलेका लागि एक ढिक्का भएर निर्वाचनमा होमिनु आजको एकमात्र आवश्यकता हो,’ उनको भनाइ छ।
रास्वपाले यसपटक प्राइमरी इलेक्सनलाई स्थगित गरेको थियो। उम्मेदवार सिफारिसको जिम्मा पाएका समितिका संयोजक उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई उम्मेदवार छान्न भिटो दिएको बताएका थिए।