दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीबाट ५७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
ती मध्ये २३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं. १ मा राजनीतिक दलहरूबाट १६ र स्वतन्त्र ११ गरी २७ जनाले उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत भेषराज खनालले जानकारी दिए।
त्यस्तै, क्षेत्र नम्बर २ मा राजनीतिक दलहरूबाट १८ र स्वतन्त्र तर्फबाट १२ गरी ३० जनाले उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत प्रेम नारायण पराजुलीले जानकारी दिए।
नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेपछि १ जनाको भने कम्प्युटरमा इन्ट्री नगरी दर्ता किताबमा मात्र दर्ता गरिएको छ।
नेपाली कांग्रेसबाट भीमबहादुर थापा (भरत) र देवेन्द्रराज कँडेल दुवै जनाले पार्टीका आधिकारिक टिकट लिएर आएपछि आधिकारिक उम्मेदवार को भन्ने विवाद देखिएको छ।
निर्वाचन अधिकृत पराजुलीका अनुसार पार्टीको आधिकारिक टिकट लिएर थापा पहिले नै कार्यालय पुगेर दर्ता नं. ७ मा उम्मेदवारी दर्ता गरेका थिए। उनको उम्मेदवारी कम्प्युटरमा दर्ता गरेपछि पार्टीकै आधिकारिक टिकट लिएर कँडेल निर्वाचन कार्यालय पुगेका थिए।
एउटै दलबाट दुई जनाको उम्मेदवारी कम्प्युटरमा दर्ता नहुने भएपछि दर्ता किताबमा मात्र दर्ता गरिएको हो।