निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दैछ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको थियो।
उम्मेदवारहरूमाथि बुधबार परेको दाबी विरोधमा जाँचबुझ र निर्णय गरी बिहीबार नामावली प्रकाशन गर्न लागेको हो।
आयोगले साँझ ५ देखि ७ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।
आयोगका अनुसार पाँच जनाविरूद्ध उजुरी परेको थियो।
भक्तपुर २ मा २ जना उम्मेदवारविरूद्ध, सुनसरी २ मा १ जनाविरूद्ध, रौतहट १ मा १ जनाविरूद्ध र कैलाली १ मा १ जनाविरूद्ध उजुरी परेको थियो।
भक्तपुरमा उम्मेदवारहरू राजिव खत्री र जानुका पाठक, सुनसरीमा लालविक्रम थापा, रौतहटमा माधव नेपाल, कैलालीमा रेशम चौधरीविरूद्ध उजुरी परेको थियो।
सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको थियो।
उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएको जनाइएको छ।
निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन्।
यसरी प्रकाशन गरिने सूचनामा जसकाविरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ।
यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ।
निर्वाचन कार्यतालिका अनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ।
आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ।