नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सर्लाही क्षेत्र नम्बर ४ मा अन्य ठाउँबाट प्रचारप्रसारका लागि आउन नपर्ने बताएका छन्।
शुक्रबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पत्रकारहरूसँगको कुराकानी गर्दै थापाले निर्वाचन क्षेत्रबाट प्रचारप्रसारका लागि आफ्नो क्षेत्रमा आउन नपर्ने बताएका हुन्। बरू आफ्नै निर्वाचन क्षेत्रमा खटिन उनले कार्यकर्ताहरूलाई अनुरोध गरेका छन्।
‘कोही साथी अर्को निर्वाचन क्षेत्रमा नआइदिनुहोला। मसँग मात्रै सर्लाही आउँछु भन्ने करिब-करिब ५०० बढी साथीहरू भइसक्नुभयो। कोही साथी सर्लाही नआइदिनुस्। सर्लाहीकै साथीहरू इनफ हुनुहुन्छ। सबै आ-आफ्नो क्षेत्रमा खटिनुस्। अर्काको निर्वाचन क्षेत्रमा गएर मद्दत हुँदैन। आफ्नै निर्वाचन क्षेत्रमा तपाईंहरू गइदिनुपर्छ,’ उनले भने।
यस्तै उनले आफ्नो पार्टीको अरू कुनै पनि दलसँग दुश्मनी नहुने र कार्यकर्ताहरूले पनि अनुशासन कायम राख्न अनुरोध गरे।
‘हामी अरू सबै पार्टीलाई पनि आह्वान गर्छौं। कांग्रेसको कुनै पनि पार्टीसँग कुनै पनि दुश्मनी छैन। हामीसँग प्रतिस्पर्धा गर्ने सबै पार्टीहरू हाम्रै भाइ साथीहरूकै पार्टी हो,’ उनले भने, ‘पार्टीहरू हाम्रा सहयात्री पनि हुन्। हामी प्रतिस्पर्धी पनि हौं। हामी फेयरप्लेमा विश्वास गर्छौं। हामी एउटा फेयर प्ले, फेयर गेम चाहन्छौं। हाम्रा मुद्दाहरू लिएर नागरिकका बीचमा जाने हो।’
निर्वाचनको प्रचारप्रसार सभ्य ढंगले गर्न पनि उनले बताए।
‘हामी निर्वाचनको प्रचारप्रसार पनि सभ्य ढंगले गर्न चाहन्छौं। हाम्रा कुरा राखौं। हाम्रा बारेमा कुरा राखौं। हामीले अरूका बारेमा धेरै कुरा भनिराख्न आवश्यक छैन। कसैले पनि उत्तेजना फैलाउने काम नगरौं। कसैले पनि भ्रम फैलाउने काम नगरौं। सुशुचित ढंगले आफ्ना उम्मेदवारहरू नागरिकले छान्न पाओस् पार्टी छान्न पाओस्,’ उनले भने।