जेनजी फ्रन्टले निर्वाचन प्रचार प्रसारमा बालबालिकाहरुको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको छ।
जेनजी फ्रन्टले शनिबार विज्ञप्ती जारी गरी आगामी फागनु २१ मा हुने निर्वाचनका लागि बालबालिकाहरूको प्रयोग भएको जनाउँदै त्यसप्रति फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको बताएको हो।
उसले बालबालिकालाई संलग्न गराउनु राजनीतिक रूपमा अनैतिक कार्यका साथै नेपालको विद्यमान कानूनअनुसार दण्डनीय अपराध रहेको तथा बालबालिका सम्बन्धी ऐन तथा निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताले राजनीतिक गतिविधि, चुनावी प्रचार-प्रसार तथा सार्वजनिक प्रचार सामग्रीमा बालबालिकाको अनुहार, नाम वा सहभागिताको प्रयोगलाई स्पष्ट रूपमा निषेध गरेको स्मरण गराकए छ।
'राजनीतिक लाभका लागि बालबालिकालाई अगाडि सार्नु बालअधिकारको गम्भीर उल्लङ्घन समेत हो।
लोकतान्त्रिक मूल्य र नैतिकताको ठाडो अपमान हो। बालबालिका कुनै पनि राजनीतिक दल, कार्यकर्ता वा उम्मेदवारका प्रचारका औजार होइनन्, हुनुहुँदैन भन्ने विषयमा हामी स्पष्ट छौँ । उनीहरूलाई राजनीतिक प्रतिस्पर्धाको साधन बनाएर भविष्यप्रति गैरजिम्मेवार व्यवहार नगर्न सम्पूर्ण राजनीतिक दल तथा उम्मेद्वारहरू सचेत बन्न आवश्यक छ,' विज्ञप्तीमार्फत जेनजी फ्रन्टले भनेको छ।
फ्रन्टले सबै राजनीतिक दल, उम्मेद्वार तथा कार्यकर्तालाई कानूनको सम्मान गर्दै आगामी निर्वाचन प्रक्रियाका राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न, आचारसंहिताको पूर्ण पालना गर्न र उच्चतम जिम्मेवारी तथा जवाफदेहिता देखाउन आग्रह समेत गरेको छ।