कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ। कोशीमा राप्रपा सांसदहरु मतदानमा सहभागी भएनन्।
राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदान कार्य ३ बजे सकिएको छ ।
मतदानमा राप्रपाका प्रदेश सांसदहरू (सभामुखसहित) र स्थानीय तहका जनप्रतिनिधिहरू भने मतदानमा सहभागी भएनन्।
कोशीमा राप्रपाका ५ जना प्रदेश सांसद कायम छन्। त्यस्तै राप्रपाबाटै स्थानीय तहमा निर्वाचित तीन जना जनप्रतिनिधिले मतदान गरेनन्।
कोशी प्रदेशका कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मतभारका कारण जित नजिक छन्।
कोशी प्रदेश सभाका ९२ जना प्रदेश सभा सदस्य र २६९ जना पालिकाका प्रमुख र उपप्रमुख मतदाता थिए।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा प्रदेश सभाका सांसद ८७ जना र स्थानीय तहका २५८ जना प्रमुख–उपप्रमुखले मतदान गरेका छन्।
कोशी प्रदेशमा राष्ट्रिय सभाको रिक्त तीनजना सदस्य मध्ये कांग्रेसको कोटामा परेको अन्य तर्फ धनकुटाका सुनिल बहादुर थापा निर्विरोध चयन भइसकेका छन्।
बाँकी रहेको दलित र महिला सदस्य छान्न निर्वाचन भएको हो।
यहाँको निर्वाचनमा नेकपा एमाले र नेकपाका उम्मेदवारबीच प्रतिष्पर्धा रहेको छ ।
कांग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेले दलिततर्फ सोमनाथ पोर्तेल र महिलातर्फ रोशनी मेचेलाई उम्मेदवार बनाएको छ। नेकपाले दलिततर्फ खेम सुन्दास र महिलातर्फ नमिता न्यौपाने चुनावी प्रतिष्पर्धामा छन्।