नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले गोरखा क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएको विषयमा टिप्पणी गरेका छन्।
प्रलोपाबाट उम्मेदवार रहेका भट्टराईले उम्मेदवारी फिर्ता लिए पनि कुनै पनि उम्मेदवारलाई आधिकारिक रूपमा समर्थन गरिसकेका छैनन्।
तर संयोजक प्रचण्डले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेलाई सहज भएको दाबी गरेका हुन्।
‘हामीबीच भएको संवादले अब भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने विश्वास छ,’ सिंहदरबारमा आज भएको राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने।
संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए।
सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको उनले बताए।
जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने उनले बताए।