राष्ट्रियसभाको दलित सदस्यमा नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित भएका छन्।
उनको जितसँगै कोशीमा कांग्रेस, एमाले र जसपा गठबन्धनले तीनै सिटमा विजय हात पारेको छ। अन्यतर्फ कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
झापाका पोर्तेलले कूल ७ हजार ४ सय २३ मतभार प्राप्त गरेका छन्। उनले ६८ जना प्रदेशसभा सदस्यको मत पाउँदा स्थानीय तहका २०१ जनाको मत प्राप्त गरेका छन्।
उनका प्रतिष्पर्धी नेकपाका खेम सुन्दासले २ हजार २७ मतभार प्राप्त गरेका छन्। उनलाई १८ जना प्रदेशसभा सदस्य र ५७ जना स्थानीय तहका प्रतिनिधिले मत दिएका छन्।
महिला सदस्यमा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छन्।
उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रियसभाको यात्रा निश्चित गरेकी हुन्। उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो।
उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरेकी छन्। उनलाई २२ जना प्रदेशसभा सदस्यले मत दिएका छन्। कोशीमा नेकपाका १७ जना मात्रै प्रदेश सांसद थिए। उनले कांग्रेस, एमाले, जसपा गठबन्धनबाट ५ जना प्रदेश सांसदको मत आफूतिर तानेकी छन्।
गठबन्धनका स्थानीय तहका १७ जना मतदाताले पनि क्रस मतदान गरेर नेकपाकी नमितालाई मत दिएका छन्। को्शीमा स्थानीय तहमा नेकपाका ३६ मतदाता हुन्। तर, नमिताले ५८ जनाको मत पाएकी छन्।
गठबन्धनबाट तानेको मत नमिताका लागि पर्याप्त भएन। फराकिलो अन्तरले झापा धाइजनकी रोशनी मेचे माथिल्लो सदनमा पुगेकी हुन्।