नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीका रूपमा घोषित उम्मेदवारहरूलाई पाँच वटा मापदण्डका आधारमा सार्वजनिक बहस गराउनुपर्ने बताएका छन्।
फागुन २१ को निर्वाचनमा विभिन्न पार्टीबाट प्रधानमन्त्रीका रूपमा घोषित उम्मेदवारहरूलाई एकै मञ्चमा राखेर सार्वजनिक बहस गराउनुपर्ने कुरा उठिरहेका बेला कांग्रेस उपसभापति शर्माले यसमा सही थाप्दै आफ्नो राय व्यक्त गरेका हुन्।
उनले आइतबार पत्रकारहरूले सोधेको प्रश्नको जबाफ दिँदै 'बोल्ने कुरामा मात्र नभई पाँच वटा मापदण्डका आधारमा बहस गराउनुपर्ने' बताएका छन्।
उपसभापति शर्माले भनेका पाँच मापदण्डमा उम्मेदवारको पृष्ठभूमि, संस्कार, भिजन, योगदान र योग्यता छन्।
'बोल्ने कुरामा मात्र होइन, यी पाँच मापदण्डमा भावी प्रधानमन्त्रीहरूबीच बहस गराऔं र निष्कर्षमा पुगौं,' उनले भने।
नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। त्यस्तै, नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको छ।
एमाले अध्यक्ष ओलीले आइतबार बिहानै प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसका लागि गरेको आह्वानमा बालेन शाहले आफू बहसमा सहभागी नहुने जबाफ दिएका थिए।
'पब्लिक डिबेटका लागि तयार छौं। नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ। यस बेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ,' ओलीले भनेका छन्।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकाले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने पनि ओलीले बताएका छन्।
यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएको ओलीले भनेका छन्।
'देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु,' ओलीले भनेका छन्।
ओलीको यही स्ट्याटसमा जबाफ दिँदै बालेनले बहसमा सहभागी नहुने बताएका हुन्।
'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो! तपाईंहरूले आफै २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो! आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो? त्यो पछि अरू कुरा गरौंला! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,' बालेनले ओलीलाई दिएको जबाफमा भनेका छन्।