सर्लाही क्षेत्र नम्बर ४ मा यसपालिको चुनावमा एकै घरका दुई जना उम्मेदवार छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता भएकोमा एकै घरका दुई जनाले उम्मेदवारी दर्ता गरेका हुन्।
नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अमनिशकुमार यादव र स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन्। उनीहरू दिदीभाइ हुन्।
२७ वर्षीय अमनिशकुमारले अन्तिम समयमा एमालेको तर्फबाट टिकट पाएका थिए। एमालेले यहाँ पहिले रवि सिंह कुशवाहलाई टिकट दिएको थियो तर अमनिशकुमारका बुवा शिवपुजन राय माघ ५ गते नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी एमाले प्रवेश गरेसँगै अमनिशकुमारले एमालेबाट उम्मेदवारी दिएका हुन्।
शिवपुजनले २०६४ मा यही क्षेत्रबाट निर्वाचन जितेका थिए।
तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचन जितेका शिवपुजन २०७४ को निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार थिए तर रातो पासपोर्ट प्रकरणमा दोषी ठहरिएका कारण उनको उम्मेदवारी खारेज भएको थियो।
त्यसयता उनले आफ्नो परिवारका अन्य सदस्यलाई राजनीतिमा अघि सार्दै आएका छन्। शिवपुजनकी श्रीमती मीना यादव २०७९ को चुनावमा माओवादीको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्।
प्रत्यक्षतर्फ छोरी मधुमालाकुमारी यादवलाई शिवपुजनले स्वतन्त्र उम्मेदवार बनाएका थिए। त्यो बेला मधुमालाले १४ हजार भन्दा धेरै भोट ल्याएकी थिइन्। उनै ३० वर्षीया मधुमाला यसपटक फेरि स्वतन्त्र उम्मेदवार बनेकी छन्।
त्यसो त शिवपुजनले स्थानीय स्तरमा पनि आफ्नो पकड राख्दै आएका छन्। रामनगर गाउँपालिकामा शिवपुजनकै अर्का छोरा राजाबाबु यादवले अध्यक्ष जितेका छन्।
एकै घरका दुई जना उम्मेदवार रहेकोबारे सोधिएको प्रश्नमा शिवपुजनले उम्मेदवार बन्नु सबैको स्वतन्त्रता रहेको प्रतिक्रिया दिए। तर शिवपुजनले आफ्नो रणनीतिअनुसार नै छोरीलाई चुनावमा स्वतन्त्र उम्मेदवार बनाएको भन्ने चर्चा छ।
अन्तिम समयमा एमालेबाट उम्मेदवारी दिएकाले कहीँकतै मधुमाला स्वतन्त्र उम्मेदवार बनेको हुन सक्ने मधेस मामिलाका एक विश्लेषकको तर्क छ।
'यो तरिका धेरै उम्मेदवारले अपनाउँछन्। डमी उम्मेदवार खडा गर्दा चुनाव खर्चदेखि मतगणनामा प्रतिनिधि राख्ने सवालमा समेत फाइदा हुन्छ,’ ती विश्लेषकले भने, 'यो सामान्य प्रक्रिया जस्तै हो, यसलाई धेरै ठूलो कुरा मान्न जरूरी छैन।'
एमालेले उम्मेदवार परिवर्तन गरेमा वा फिर्ता गर्न निर्देशन दिएमा छोरीलाई सक्रिय गराउन शिवपुजनले यस्तो गरेको हुन सक्ने अनुमान छ।