आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सम्मलाई अनुगमनका लागि परिचालन गर्ने प्रहरीको तयारी छ।
प्रहरी प्रधान कार्यालयका एआइजी उमाप्रसाद चतुर्वेदीको कमाण्डमा अहिले केन्द्रीय निर्वाचन परिचालन सेल गठन भएको छ। यस सेलमा डिआइजी अरूण पौडेल, एसएसपी दयानिधि ज्ञवाली, एसएसपी दीपशम्शेर राणासहित ३१ जना केन्द्रमा छन्। त्यसैगरी प्रदेश अन्तर्गत पनि छुट्टाछुट्टै सेल गठन गरिएको छ।
आगामी निर्वाचनका लागि सुरक्षा संयन्त्रले मधेस प्रदेशका सबै जिल्लालाई चुनौतिपूर्ण रूपमा विश्लेषण गरेको छ।
त्यसमध्ये पनि सर्लाहीको क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति गगनकुमार थापा र रास्वपाका नेता अमरेशकुमार सिंह भीड्ने भएपछि त्यस ठाउँमा विशेष सुरक्षा योजना तयारी गरिरहेको छ।
त्यस्तै निर्वाचनमा सर्वाधिक चासोको केन्द्र झापा क्षेत्र नम्बर ५ बनेको छ।
यहाँ एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित विभिन्न दलबाट उम्मेदवार छन्।
त्यस बाहेक चितवन, पूर्वी रूकुम लगायत ठाउँमा पनि उच्च निगरानी राख्नुपर्ने प्रहरीको विश्लेषण छ।
यी ठाउँका संवेदनशील र अतिसंवेदनशील क्षेत्रका लागि एसएसपीले नै कमाण्ड गर्नेगरी खटाउने प्रहरी प्रधान कार्यालयको तयारी छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेका अनुसार एसएसपीदेखि एआइजीसम्म अनुगमनमा खटिनेछन्।
‘एसएसपी, डिआइजी र एआइजीहरू अनुगमनमा खटिनेछन्। कतिपय क्षेत्रमा संवेदनशीलता हेरेर पनि हुन्छ,’ उनले भने, ‘कमिकमजोरी हुन नदिनका लागि अनुगमन गर्ने, निर्देशन दिने, अलर्ट गर्ने जिम्मेवारीहरू हुन्छन्।’
‘हेभिवेट’ उम्मेदवार हुने स्थानमा त्यसअनुसारकै योजना, सुरक्षा सतर्कता, परिचालन, सूचना संकलन लगायतका कामहरू हुने पनि उनले बताए।
कुनै पनि ठाउँमा झडप हुन नदिने गरी काम गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्देशन दिएको पनि उनले बताए।
‘निर्देशन बमोजिम नै हाम्रो तयारी छ। सबै जिल्लामा झडप नहुने गरी रणनीति अपनाउन स्पष्ट निर्देशन छ,’ उनले भने।
प्रहरी प्रधान कार्यालयले देशका विभिन्न ठाउँमा संवेदनशील मतदानस्थल र अतिसंवेदनशील मतदानस्थल कुनकुन हुन् भनेर विश्लेषण गरेको छ।
झापामा ९५ वटा मतदानस्थल अतिसंवेदनशील छन्।
त्यस्तै १४७ मतदानस्थल संवेदनशील छन्। सर्लाहीमा १५८ अतिसंवेदनशील र १३१ संवेदनशील क्षेत्र छन्।