बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित ३० लाख भन्दा बढी पृष्ठ बराबरका गोप्य कागजात सार्वजनिक भएको छ।
अमेरिकी न्याय मन्त्रालयले शुक्रबार उक्त दस्तावेज सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दस्तावेजमा १ लाख ८० हजार तस्बिर र करिब २ हजार भिडियो समेत समावेश रहेको भनेर बिबिसीले लेखेको छ।
गत वर्ष पारित कानूनअनुसार हालसम्मकै सबैभन्दा ठूलो मात्रामा एप्स्टिनसम्बन्धी दस्तावेज सार्वजनिक गरिएको हो। यद्यपि तोकिएको मितिभन्दा ६ हप्ता ढिला गरी गोप्य कागजात सार्वजनिक भएको हो।
अमेरिकी उपमहान्यायाधिवक्ता टोड ब्लेन्चले सबै कागजातको पहिचान, समीक्षा र पारदर्शिता सुनिश्चित गर्ने प्रक्रिया पूरा भएको दाबी गरेका छन्।
सार्वजनिक गरिएका फाइलमा एप्स्टिनको जेल जीवन, उनको मानसिक स्वास्थ्य प्रतिवेदन, जेलमै रहँदा भएको मृत्युको विवरण तथा उनका निकट सहयोगी गलिन म्याक्सवेलसम्बन्धी अनुसन्धान सामग्री समेटिएको छ।
म्याक्सवेल नाबालिकालाई यौन शोषणका लागि सहयोग गरेको अभियोगमा दोषी ठहर भइसकेको छ ।
कागजातमा एप्स्टिन र विश्वका विभिन्न प्रभावशाली व्यक्तिहरूबीच भएका इमेल आदानप्रदान पनि समावेश छन्।
तीमध्ये बेलायतका तत्कालीन ड्युक अफ योर्क, एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग भएको इमेल आदानप्रदानले बेलायती शाही परिवारसँग एप्स्टिनको नजिकको सम्बन्ध देखाएको छ ।
इमेलमा बकिङ्घम प्यालेसमा पूर्ण गोपनीयतासहित डिनर गर्ने प्रस्ताव र एक रूसी युवतीसँग भेट गराइदिने उल्लेख छ । यद्यपि, ती इमेलमा कुनै गैरकानुनी गतिविधिको प्रमाण देखिँदैन।
यसैगरी, एप्स्टिनले सन् २००९ मा बेलायती राजनीतिज्ञ लर्ड पिटर म्यान्डेलसनका पति रेनाल्डो अविला दा सिल्भालाई १० हजार पाउन्ड पठाएको विवरण पनि फाइलमा छ।
उक्त रकम शैक्षिक तालिमका लागिऋण का रूपमा पठाइएको उल्लेख छ । म्यान्डेलसनले एप्स्टिनसँगको आफ्नो पुरानो सम्बन्धप्रति पछुतो व्यक्त गर्दै कुनै गलत काम नदेखेको दाबी गर्दै आएका छन् ।
फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम सयौँ पटक उल्लेख गरिएको छ।
ट्रम्पले विगतमा एप्स्टिनसँग मित्रता रहेको स्वीकारे पनि धेरै वर्षअघि नै सम्बन्ध टुटेको र उनका यौन अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका छन्।
सार्वजनिक कागजातमा ट्रम्पविरुद्ध आएका धेरै आरोपहरू प्रमाणविहीन र अप्रमाणित रहेको भन्दै न्याय मन्त्रालयले ती आरोप असत्य भएको स्पष्ट पारेको छ ।
यसैबीच, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्ससम्बन्धी केही ‘सनसनीपूर्ण’ दाबी पनि फाइलमा भेटिएपछि गेट्सका प्रवक्ताले ती सबै आरोप पूर्ण रूपमा झुटा र हास्यास्पद भएको प्रतिक्रिया दिएका छन्।
ती इमेल एप्स्टिनले आफैंले तयार गरेको जस्तो देखिए पनि बिल गेट्सलाई पठाइएको कुनै प्रमाण भेटिएको छैन ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार सार्वजनिक गरिएका एप्स्टिनसम्बन्धी फाइलहरूमा अमेरिकी राष्ट्रपति जो बाइडेन र टेस्ला तथा एक्सका मालिक इलन मस्कको नाम पनि उल्लेख भएको छ । तर ती उल्लेखहरू सन्दर्भगत र प्रमाणविहीन दाबी मात्र भएको सिएनएनले जनाएको छ ।
सीएनएनले उद्धृत गरेको न्याय मन्त्रालयको स्पष्टीकरणअनुसार फाइलमा देखिएका धेरै नामहरू इमेल, टिप–लाइनमा आएका उजुरी, वा तेस्रो पक्षका दाबीका रूपमा छन्, जसले कुनै आपराधिक संलग्नता पुष्टि गर्दैनन् ।
मन्त्रालयले यस्ता कागजातमा भएका उल्लेखलाई तथ्यगत निष्कर्षका रूपमा लिन नमिल्ने पनि भनेको छ।
यद्यपि, सबै एप्स्टिन फाइल सार्वजनिक भइसकेको हो वा होइन भन्ने विषय अझै विवादित छ । डेमोक्र्याट सांसदहरूले न्याय मन्त्रालयले अझै लाखौँ कागजात लुकाएको आरोप लगाएका छन् ।
सार्वजनिक गरिएका धेरै कागजातमा कालो मसीले काटिएको (रेड्याक्सन) भाग देखिन्छ । कानूनअनुसार पीडितको पहिचान वा जारी अनुसन्धान सुरक्षित गर्न मात्र यस्तो काटछाँट गर्न पाइने व्यवस्था छ । तर पनि शक्तिशाली व्यक्तिहरूलाई जोगाउन षड्यन्त्र भएको आशंका अझै पूर्ण रूपमा मरेको छैन ।
न्याय मन्त्रालयले एप्स्टिन फाइलमा महिलालाई दुर्व्यवहार गर्ने पुरुषहरूको नाम स्पष्ट रूपमा नदेखिएको जनाएको छ ।
यदि त्यस्ता प्रमाण भएको भए अभियोजन गरिसक्ने दाबी मन्त्रालयको छ । यससँगै, एप्स्टिन प्रकरणको सत्य पूर्ण रूपमा बाहिर आयो कि आएन भन्ने बहस अझै जारी रहने संकेत देखिएको छ ।
को हुन् एपस्टिन?
एपस्टिन र उनकी बेलायती प्रेमिका गलिन म्याक्सवेलले अमेरिकाका धनाढ्य र शक्तिशाली राजनीतिज्ञहरूका लागि 'कलिला किशोरीहरू व्यवस्था गर्ने' भनेर केही दशक अघिदेखि चर्चा हुँदै आएको थियो।
उनीहरूले न्यूयोर्क र फ्लोरिडाको पाम–बिचमा रहेका आफ्ना महलमा शक्तिशाली व्यक्तिहरूका लागि मनोरञ्जनको व्यवस्था गर्थे। एपस्टिनको क्यारेबियनमा एउटा निजी टापु नै थियो। उनले आफ्ना पाहुनालाई त्यहाँ लैजान निजी विमान प्रयोग गर्थे।
यस्तो धन्दा चलाउँदा पनि शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धका कारण एपस्टिनमाथि कुनै छानबिन भएको थिएन।
सन् २००६ मा पहिलोपटक उनलाई बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ गरिएको थियो र १८ महिना कैद सजाय भएको थियो। तर एक विवादास्पद प्रावधानका आधारमा हरेक दिन १६ घन्टासम्म कामका लागि जेलबाहिर जान दिने व्यवस्था गरियो। राजनीतिक पहुँचकै कारण उनले त्यस्तो सहुलियत पाएका थिए।
उनी १८ महिनाको सजाय पूरा नगरी १३ महिनामै रिहा भए। त्यसपछि पनि आफ्नो धन्दा जारी राखेको मानिन्छ।
एपस्टिनले त्यति बेला वेश्यावृत्तिमा प्रयोग गरेका कतिपय किशोरीले हुर्किसकेपछि उक्त घटना सार्वजनिक गरेका थिए। एक महिलाले वर्षौंअघि आफू किशोरी हुँदा तत्कालीन बेलायती राजकुमार एन्ड्रयू (हालका राजा चार्ल्सका भाइ) ले यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन्।
यही कारणले सन् २०१९ मा एन्ड्रयूलाई सार्वजनिक जिम्मेवारीबाट निलम्बन गरिएको थियो भने २०२२ पछि उनको राजकुमार पद पनि खोसियो। उनले ती महिलालाई करोडौं डलर दिएर अदालत बाहिरै मुद्दा मिलाएका थिए। ती महिलाले गत अप्रिलमा आत्महत्या गरिन्।
उता किशोरीहरूको सार्वजनिक बयानपछि एपस्टिनलाई ट्रम्पको पहिलो कार्यकाल सन् २०१९ मा फेरि पक्राउ गरियो।
उनले २०१९ मै जेलभित्र आत्महत्या गरे। उनकी प्रेमिका म्याक्सवेल भने अहिले पनि जेलमै छिन्।
कतिपयले एपस्टिनको मृत्यु आत्महत्या नभएर हत्या हो भन्ने दाबी गरेका छन्। यस्तो दाबी गर्नेमा ट्रम्पका समर्थक नै थिए। उनीहरू यहाँसम्म भन्थे — डेमोक्र्याटिक पार्टीमा आबद्ध शक्तिशाली व्यक्तिहरू बाल वेश्यावृत्तिमा संलग्न छन्!
एपस्टिनले आफ्ना शक्तिशाली ग्राहकको सूची नै बनाएर राखेका छन् भन्ने पनि ट्रम्पका समर्थकको दाबी थियो। त्यही सूची बाहिरिने डरले डेमोक्र्याटिक पार्टीका शक्तिशाली नेताले एपस्टिनको हत्या गरेको उनीहरू बताउँथे।
उनीहरूले यस्तो आरोप लगाउनुमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग एपस्टिनको घनिष्ठ सम्बन्ध एउटा मुख्य कारण थियो।
सन् २००१ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि क्लिन्टनले धेरैपटक एपस्टिनको निजी जहाजमा यात्रा गरेको फ्लाइट लगले देखाएको छ।
ट्रम्पले पनि आफ्नो राजनीतिक लाभका लागि ती आरोपलाई बढावा दिए। दोस्रो कार्यकालका लागि चुनाव प्रचार क्रममा उनले भने, 'मैले चुनाव जितेँ भने एपस्टिनको ग्राहक सूची सार्वजनिक गर्छु।'
उपराष्ट्रपतिका उनका उम्मेदवार जेडी भान्सले पनि 'एपस्टिनको सूची जारी गर्नुपर्छ' भनेका थिए।
यति मात्र होइन, ट्रम्पले अमेरिकी अनुसन्धान संस्था एफबिआईको प्रमुख बनाएका काश पटेल र उपप्रमुख बनाएका डयान बान्जिनोले त उक्त सूची एफबिआईसँग छ भनेर दाबी नै गरेका थिए। त्यो सूची बाहिरिए डेमोक्र्याटिक पार्टी संकटमा पर्ने बान्जिनोको भनाइ थियो।
ट्रम्पले महान्यायाधिवक्ता बनाएकी पाम बन्डीले पनि गत फेब्रुअरीमा ट्रम्पलाई समर्थन गर्ने 'फक्स न्यूज' सँग कुरा गर्दै उक्त सूची आफ्नो डेस्कमा रहेको बताएकी थिइन्। पछि उनले कुरा फेर्दै ग्राहकको सूची नभएर एपस्टिनको फाइल आफ्नो डेस्कमा रहेको बताइन्।
यी सबै घटनाक्रमका कारण ट्रम्प सरकारले उक्त सूची र एपस्टिनसँग सम्बन्धित सबै कुरा सार्वजनिक गर्ने उनका समर्थकको अपेक्षा थियो।
तर ट्रम्प सरकारले सूची त के, यसबारे कुनै पनि नयाँ विवरण सार्वजनिक गरेन। सार्वजनिक गरिएका सबै कुरा पहिल्यै थाहा भइसकेका थिए।
यसबीच ट्रम्पसँग भर्खरै झगडा गरेका टेस्लाका मालिक इलन मस्कको बयान आयो। ट्रम्पले आफू पनि उक्त काण्डमा मुछिने भएपछि सूची सार्वजनिक नगरेको मस्कले आरोप लगाए।
चौतर्फी दबाबपछि ट्रम्प सरकारले भर्खरै एपस्टिनले आत्महत्या गर्नुभन्दा अघिल्लो रातदेखिको जेलको सिसिटिभी फुटेज सार्वजनिक गर्यो। तर अमेरिकी अनलाइन 'वायर्ड' ले उक्त सिसिटिभी फुटेज सम्पादित भएको र तीन मिनेटजतिको भिडिओ काटिएको भनेर समाचार लेख्यो।
यसले झन् धेरै शंका बढायो।
यही सन्दर्भमा ट्रम्पकै रिपब्लिकन पार्टीको समर्थन गर्ने 'द वाल स्ट्रिट जर्नल' ले छापेको एउटा समाचारमा एपस्टिनको ५०औं जन्मदिनको अवसरमा ट्रम्पले पत्र लेखेको उल्लेख छ।
समाचारअनुसार सन् २००३ मा एपस्टिनको ५०औं जन्मदिनको अवसरमा ट्रम्पसहित केही साथीहरूले अश्लील पत्र लेखेका थिए।
एपस्टिनकी प्रेमिका म्याक्सवेलको अनुरोधमा लेखिएको भनिएका ती पत्रको बेहोरा नै वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको छ। जर्नलका अनुसार ट्रम्पको पत्रमा एक नग्न महिलाको आकृतिभित्र शब्दहरू लेखिएका थिए।
त्यसपछि यो मामिलाले तरंग ल्याएको थियो।
ट्रम्प राजनीतिमा आउनुअघि एपस्टिनको चर्चा मुख्यत: क्लिन्टनसँगको सम्बन्धलाई लिएर हुन्थ्यो। ट्रम्प राष्ट्रपति भएपछि पुराना सामग्री खोतलेर उनको र एपस्टिनको सम्बन्ध केलाइँदै छ।

ट्रम्प र एपस्टिन (बायाँ) ले सन् १९९७ मा खिचेको तस्बिर। स्रोत: द वाल स्ट्रिट जर्नल
सन् १९९० दशक र २००० को सुरूआतमा एपस्टिन र ट्रम्पको राम्रो सम्बन्ध थियो। एपस्टिन, ट्रम्प, एपस्टिनकी प्रेमिका म्याक्सवेल र ट्रम्पकी पत्नी मेलानियाले विभिन्न सामाजिक कार्यक्रममा खिचाएका तस्बिर पनि सार्वजनिक भएका छन्।
एनबिसी टिभीको पुरानो भिडिओ फुटेजमा ट्रम्पलाई उनको एक रिसोर्टमा भएको पार्टीमा एपस्टिनसँग देख्न सकिन्छ। उक्त फुटेजमा ट्रम्पले एक महिलालाई आफूतिर तान्दै गरेको र उनको नितम्बमा धाप मारेको देखिन्छ।
'न्यूयोर्क' पत्रिकाले सन् २००२ मा एपस्टिनबारे लेखेको एक लामो लेखमा ट्रम्पको पनि प्रतिक्रिया लिइएको थियो।
'मैले जेफ (एपस्टिन) लाई १५ वर्षदेखि चिनेको छु। धेरै गज्जबका मान्छे! उनीसँग बस्दा धेरै रमाइलो हुन्छ। यो पनि भनिन्छ, सुन्दर महिलाहरू मलाई जति मन पर्छ, उनलाई पनि त्यति नै मन पर्छ। र, तीमध्ये धेरैजसो कम उमेरका छन्। यसमा कुनै शंका छैन, जेफ्री आफ्नो सामाजिक जीवनको आनन्द लिन्छन्,' ट्रम्पले त्यति बेला भनेका थिए।
एपस्टिनको निजी विमानमा समेत ट्रम्पले सातपटक यात्रा गरेको फ्लाइट लगले देखाउँछ भनेर 'द न्यूयोर्क टाइम्स' ले लेखेको छ। ट्रम्प स्वयंले पनि एपस्टिनको निजी विमानमा यात्रा गरेको स्वीकार गरेका छन्। तर उक्त विमानमा कहिले पनि एपस्टिनको निजी टापुमा नगएको उनले दाबी गरेका छन्। त्यस्तै, एपस्टिनसँग कुनै अवाञ्छित गतिविधिमा संलग्न नभएको पनि भनेका छन्।
यी दुई जनाको सम्बन्ध सन् २००४ पछि बिग्रिएको थियो। अमेरिकी पत्रिका 'द वासिङ्टन पोस्ट' का अनुसार फ्लोरिडाको पाम–बिचमा रहेको एउटा महल कसले किन्ने भनेर उनीहरूबीच झगडा भएको थियो। त्यो महल एपस्टिनले भनेभन्दा धेरै दाममा ट्रम्पले किनेका थिए।
सन् २०१९ मा एपस्टिन दोस्रोपटक पक्राउ पर्दा राष्ट्रपति रहेका ट्रम्पले करिब १५ वर्षदेखि उनीसँग कुरा नगरेको बताएका थिए।
'पाम–बिचमा सबैले चिनेझैं म पनि उनलाई चिन्थेँ। म उनको प्रशंसक थिइनँ, त्यो म तपाईंलाई भन्न सक्छु,' ट्रम्पले त्यति बेला ह्वाइट हाउसमा भनेका थिए।
एपस्टिनसँग निकट रहेका बेला ट्रम्पले पनि बालिकाहरूसँग यौन सम्बन्ध राखेका थिए कि थिएनन् भनेर अहिलेसम्म खुलेको छैन। तीन जनासँग विवाह गरेका र धेरै महिलासँग सम्बन्ध राखेका कारण ट्रम्पमाथि शंका गर्न सकिन्छ। तर त्यतिले मात्र पुष्टि हुँदैन।