गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिएका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन गृहसचिव तथा मन्त्रालयका उच्च अधिकारीसहित काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका बेला मन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन्।
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै मात्र सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ लाई कार्यान्वयन गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई उनले आवश्यक निर्देशन दिएका छन्।
मन्त्री अर्यालले काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय पुगी मुख्य निर्वाचन अधिकृत प्रेम प्रसाद न्यौपानेसँग भेट गरी निर्वाचनको तयारीबारे जानकारी लिए।
त्यस्तै काभ्रेका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीहरूले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीबारे मन्त्री अर्याललाई जानकारी गराए।