प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुई वटै निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको ९ दिनसम्म पनि कसलाई सहयोग गर्ने निर्णय लिएको छैन।
प्रलोपाबाट गोरखा १ मा गोपालबाबु श्रेष्ठ र गोरखा २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माघ ६ गते उम्मेदवारी दर्ता गरेर माघ ९ गते फिर्ता लिएका थिए।
प्रत्यक्षतर्फ उम्मेदवारी फिर्ता भएको दुई साता हुँदासमेत प्रलोपा गोरखाले प्रत्यक्षतर्फ कुन पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हो निर्णय गरिसकेको छैन।
प्रलोपा गोरखाले समानुपातिकतर्फ भने दुवै क्षेत्रमा पार्टीकै चुनाव चिह्न खुलेको आँखामा भोट मागिरहेको छ।
उम्मेदवारी फिर्ता लिएका पूर्वप्रधानमन्त्री भट्टराईले पनि समानुपातिकतर्फ प्रलोपालाई मत मागेका छन्।
‘अब आँखा खोलौं। फागुन २१ गते समानुपातिकतर्फ गत एक दशकदेखि नयाँ शक्ति अभियानको सूत्रधार बन्दै आएको तथा उन्नत विचार सहितको विकल्प प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को चुनाव चिह्न 'खुलेको एकल आँखा'मा मतदान गरौं,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
प्रलोपा गोरखा संयोजक नारायण खत्रीले विज्ञप्ति जारी गरेर गोरखा १ र २ मा प्रलोपाको उम्मेदवार खाली हुन गएको उल्लेख गरेका छन्।
‘समानुपातिक उम्मेदवार कायम रहिरहेको हुँदा दुवै क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन परिचालन समिति गठन गरिएको छ,’ उनको भनाइ छ।
साथै उनले क्षेत्र नम्बर १ का लागि केन्द्रीय सदस्यसमेत रहेका जिल्ला इन्चार्ज यानप्रसाद भट्टको संयोजकत्वमा १०१ र क्षेत्र नम्बर २ का लागि जिल्ला संयोजक नारायण खत्रीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको उल्लेख गरेका छन्।
उनकाअनुसार राजनीतिक संवादका लागि ३ सदस्यीय समिति पनि गठन गरिएको छ। यानप्रसाद भट्टको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको उनको भनाइ छ।
प्रलोपाले रूकुममा भने एमालेसँग चुनावी तालमेल गरेको छ। रूकुम पश्चिममा प्रलोपा नेता जनार्दन शर्मा र रूकुम पूर्वमा केन्द्रीय सदस्य सन्दीप पुन उम्मेदवार छन्। सहमतिअनुसार एमालेले शर्मा र पुनलाई सहयोग गर्नेछ।
साथै प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेक जिल्ला तथा पुरानो राप्ती अञ्चलका जिल्लामा एमालेलाई सहयोग गर्ने सहमति भएको थियो।
यो सहमतिमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोबले माघ ११ गते हस्ताक्षर गरेका थिए।