राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा घोषणा पत्र लेख्ने काम गरिरहेको छ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार घोषणा पत्रलाई अन्तिम रूप दिएर केही दिनभित्रै सार्वजनिक गरिनेछ।
‘अध्यक्षज्यूकै नेतृत्वमा घोषणा पत्र लेखन कार्य भइरहेको छ, घोषणा पत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामी छिट्टै घोषणा पत्र सार्वजनिक गर्छौं।’
पार्टीले उठान गर्दै आएका एजेन्डाहरूलाई घोषणा पत्रमा समावेश गर्ने तयारीमा राप्रपा छ।
‘अभिभावकीय संस्थाका रूपमा राजसंस्था, हिन्दुराष्ट्र, प्रदेश संरचना खारेजी, पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायतका एजेन्डा छन्,’ उनले भने, ‘यी विषयहरू प्राप्त हुन सकेको छैन तर हामीले सडक र सदनमा प्रभावकारी रूपमा काम आवाज उठायौं। यी विषय यसपालि पनि घोषणा पत्रमा समावेश गरिएको छ।’
यसबाहेक सामाजिक, आर्थिक रूपान्तरणका एजेन्डा पनि घोषणा पत्रमा रहने उनले जानकारी दिए।
‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विकल्पमा देशलाई अघि बढाउने मार्गचित्र पनि घोषणा पत्रमा रहनेछ,’ उनले भने।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।