नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले समृद्ध पाल्पा बनाउने अवधारणा सहित चुनावी अभियानमा होमिएको बताएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट नेकपाको उम्मेदवार बनेका पाण्डेले बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक सहर बनाउने योजना रहेको बताए।
पाल्पा काठमाडौँ पछि बुद्ध धर्म मान्नेहरूको दोस्रो ठूलो सहर रहेको उल्लेख गर्दै उनले श्रीनगरलाई बुद्ध गार्डेनको रूपमा विकास गर्न सके लुम्बिनी आउने पर्यटकहरूलाई पाल्पा लैजान सकिने र त्यसैको माध्यमबाट पाल्पालाई समृद्ध बनाउन सकिने बताए।
‘पाल्पालाई हिल स्टेसनको रूपमा विकास गर्न सके लुम्बिनी आएका पर्यटकहरूलाई लैजान सकिन्छ, सिद्धबाबा सुरूङ मार्ग, बुटवल तानसेन र बुटवल पोखरा सडक खण्डको निर्माण सम्पन्न हुँदा बुटवल र पाल्पाको दुरी पनि छोटो हुनेछ,’ उनले भने।
पाण्डेले तानसेनसँग जोडेर हार्थोक–छहरा र तानसेन—पोखरा सडकको स्तरोन्नति, माडीमा चक्रपथ निर्माण लगायतका विकास निर्माणका काममा आफूले पहल गरिरहेको दाबी गरे।
पूर्वमन्त्री समेत रहेका नेता पाण्डेले पाल्पाबासीसँग सुख दुःखमा सधैँ सँगै रहेको भन्दै पाल्पाली जनताको मतको सम्मान गर्ने र हारजित जेसुकै भए पनि जनतासँगै रहने प्रतिबद्धता व्यक्त गरे।
उनले आफू खुला किताब भएको उल्लेख गर्दै पहिलो पटक २०५१ सालको निर्वाचनमा जनतामाझ पुग्दा गरेका मुख्य तीन वटा वाचा गरेको र ती वाचामा अहिले पनि आफू प्रतिबद्ध रहेको बताए।
‘मैले २०५१ सालमै पनि मुख्य तीन वटा कुराहरू जिते पनि र हारे पनि पाल्पाली जनतासँगै रहने, कुनै पनि आर्थिक अनियमिततामा मुछिएर जनताको शिर निहुरिन नदिने र आफूलाई दिएका जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरेको थिएँ। आज पनि म ती प्रतिबद्धतामा अडिग छु, मलाई मत दिएर कुनै पनि मतदाताले शिर निहुराउनुपर्ने र पछुताउनुपर्ने अवस्था आउन दिने छैन,’ उनले भने।
उनले आफ्नो पहलमा पाल्पाका विभिन्न स्थानमा तीन सय बढी साना ठूलो आयोजना सञ्चालनमा रहेको दाबी गर्दै अधुरा रहेका आयोजना पूरा गर्न यस पटक आफ्नो आवश्यकता रहेको बताए।
पहिलो पटक २०५१ सालको निर्वाचन मार्फत प्रतिनिधिसभामा प्रवेश गरेका पाण्डे त्यसयताका सात वटा निर्वाचनमा पाल्पाबाट उम्मेदवार बन्दै आएका छन्।
२०६४ सालको संविधानसभाको पहिलो निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित बनेका पाण्डे २०७० सालको संविधानसभाको दोस्रो निर्वाचन तथा २०५१, २०५६ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचन गरी चार वटा निर्वाचनमा भने विजयी बनेका थिए।
पाण्डे पछिल्ला तिन वटा निर्वाचनमा भने फरक फरक चुनाव चिह्नबाट उम्मेदवार बन्दै आएका छन्।
२०७४ सालमा नेकपा एमालेबाट सूर्य चिह्न तथा २०७९ सालमा एकीकृत समाजवादीको कलम चिह्न लिएर निर्वाचन लडेका पाण्डे यस पटक भने विभिन्न १८ वटा घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको तार चिह्न लिएर चुनावी मैदानमा छन्।
२०७९ सालको निर्वाचनमा पाण्डेलाई एमालेका ठाकुर गैरेले पराजित गरेका थिए।
यस पटक पनि पाण्डेसँगै पाल्पा क्षेत्र नं. २ मा नेकपा एमालेका ठाकुर गैरे, नेपाली काँग्रेसका हिमालदत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापा लगायत राजनीतिक दलहरूबाट १४ जना र ३ जना स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दिएका छन्।
रैनादेवी छहरा, रिब्दीकोट र बगनासकाली गाउँपालिकासँगै माथागढी गाउँपालिकाको वडा नं. १, तिनाउ गाउँपालिकाको वडा नं. १ देखि ४ र ६ तथा तानसेन नगरपालिकाको १ देखि ७ र ९ देखि १४ वडा समेटिएको क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन्।