नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा नरहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै संयोजक प्रचण्डले हजारौं सहिदको सपना पूरा गर्न आफूले संघर्ष गरिरहेको बताएका हुन्।
‘धेरैलाई लाग्न सक्छ- म र मजस्ता पुराना नेताहरू एउटै हुन्। तर म आज भन्न चाहन्छु- म ती पुराना नेताहरूको भिडमा छैन। म त्यो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु र यो प्रमाणित गरेर छाड्नेछु,’ संयोजक प्रचण्डले भनेका छन्, ‘ मेरो काम र निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ।’
उनले एउटा मानिसले आफ्नो जीवनमा जे-जति गुमाउन सक्छ ती सबै गुमाएको पनि उल्लेख गरेका छन्। ‘तर यो संघर्ष व्यक्तिगत होइन, हजारौं सहिदको सपना पूरा गर्ने यात्रा हो,’ उनले भने, ‘आफ्नो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन भन्ने मलाई थाहा छ। परिवर्तन अनिवार्य छ र भएर छाड्नेछ।’
युवाहरूले उठाउँदै आएको भ्रष्टाचार अन्त्य, पारदर्शीता र बलियो सरकारका विषय आफूले 'जनयुद्ध'देखि उठाएको पनि प्रचण्डको भनाइ छ।
मुलुकमा राजनीतिक स्थिरता र विकासका लागि अहिलेको व्यवस्थाभन्दा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था उत्तम हुने दाबी उनको छ।
‘मेरो र युवाको माग समान छ। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ। खलनायक बनेर इतिहास पानामा म हराउन चाहन्न। देशलाई सहि दिशामा नपुर्याएसम्म विश्राम लिने छैन,’ उनले भने।
साथै उनले आफू हार मान्न तयार नरहेको पनि उल्लेख गरेका छन्।
‘हार मान्न तयार छैन। काम सकिएको छैन। नयाँ पुस्तालाई स्वागत गर्छौं। हरेक चम्किलो चिज हिरा हुँदैन, सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ,’ उनले भनेका छन्, ‘म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको छु, भोट माग्न होइन।’
प्रचण्ड रूकुम पूर्वमा उम्मेदवार छन्। फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुँदैछ।