जापानका प्रधानमन्त्री सनई ताकाइचीको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले आगामी साता हुने तल्लो सदनको निर्वाचनमा भारी बहुमत हासिल गर्ने प्रक्षेपण गरिएको छ।
जापानकै आसाही पत्रिकाले गरेको सर्वेक्षणले ताकाइचीको पार्टी लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) ले बहुमत सीमा पार गर्ने प्रक्षेपण गरेको हो।
जापानमा आगामी आइतबार निर्वाचन हुँदैछ।
पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले १६ दिनको अवधिमा निर्वाचन गर्ने गरी संसद विघटन गरेकी थिइन्।
अघिल्लो प्रतिनिधि सभामा एलडिपीको १९८ सांसद थिए। ४६५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि २३३ सांसद आवश्यक हुन्छ।
एलडिपी एक्लैको बहुमत नभएका कारण ताकाइची गठबन्धन सरकारका प्रधानमन्त्री थिइन्।
गठबन्धनमा काम गर्न सहज नभएको भनेर उनले चुनाव घोषणा गरेकी थिइन्।
फेब्रुअरी ८ मा हुने चुनावबाट उनको दलले एक्लै बहुमत कटाउने सर्वेक्षणबाट प्रक्षेपण भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
सर्वेक्षणले एलडीपीले हालको १९८ सिटबाट बढेर ठूलो संख्यामा सिट जित्ने अनुमान गरेको छ।
गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (इशिन) सहित सत्तारुढ गठबन्धनले करिब ३०० सिट हासिल गर्न सक्ने देखिएको छ।
ताकाइचीले विशेष गरी उपभोग कर कटौती वा घटाउने, सरकारी खर्च बढाउने, कमजोर आय भएका वर्गको संरक्षण लगायतका एजेन्डाले मतदाताको मन जितेको बताइएको छ। जापानमा खाद्यान्नमा ८ प्रतिशत उपभोग कर लाग्छ। ताकाइचीले सो कर दुई वर्षका लागि पूर्ण रूपमा हटाउने बताएकी थिइन्।
यस्तो परिणाम आएमा प्रधानमन्त्री ताकाइचीको दलभित्रको पकड थप बलियो हुने र ठूलो खर्च तथा कर कटौतीमा आधारित वित्तीय नीति अघि बढाउने स्पष्ट जनादेश प्राप्त हुने विश्लेषकहरू बताउँछन्।
मित्सुबिसी यूएफजे मोर्गन स्टान्ली सेक्युरिटिजका वरिष्ठ बन्ड रणनीतिकार केइसुके त्सुरुताका अनुसार एलडीपीको ठूलो जितले बजारमा उपभोग कर कटौतीजस्ता सक्रिय वित्तीय नीतिहरू अघि बढ्ने सम्भावना बढाएको सन्देश जानेछ।
यही अपेक्षाबीच सोमबार जापानी सरकारी बन्डको प्रतिफल बढेको छ।
सर्वेक्षणअनुसार सबैभन्दा ठूलो विपक्षी दल सेन्ट्रिस्ट रिफर्म एलायन्स कमजोर अवस्थामा देखिएको छ र हालको १६७ सिटमध्ये करिब आधा गुमाउन सक्ने अनुमान गरिएको छ।
सत्तारुढ गठबन्धनसँग तल्लो सदनमा झिनो बहुमत भए पनि माथिल्लो सदनमा अल्पमत रहेको छ।