प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिएर चुनाव उठ्न गएकाहरूको बचाउ गरेकी छन्।
अन्तरिम सरकारमा मन्त्री भएकाहरू अहिले चुनावमा उम्मेदवार रहेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै जेनजीको दबाबमा उनीहरूलाई मन्त्री बनाएको र राजनीति गर्न मन्त्री पदबाट बिदा गरिएको बताएकी हुन्।
कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ताले मन्त्रीबाट राजीनामा दिएर फागुन २१ को चुनावका लागि उम्मेदवारी दिएका छन्।
घिसिङले उज्यालो नेपाल पार्टी खोले, महावीर स्वतन्त्र उम्मेदवार छन्, जगदीश र बब्लु रास्वपा प्रवेश गरी उम्मेदवार छन्।
‘जेनजीको मानिसहरू मन्त्रीमा ल्याऊ भनेर हामीलाई ठूलो प्रेसर थियो। त्यसमा महावीर पुन, कुलमान घिसिङहरूको नाम उनीहरूले प्रस्ताव गरे, हामीले मान्नुपर्ने अवस्था पनि थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘धेरैको नाम आयो। त्यसमध्ये केहीलाई मन्त्रिपरिषदमा ल्यायौं। त्यसबेला तत् तत् व्यक्तिहरूले मन्त्री हुन मान्नुभएको थिएन। तर जेनजीको प्रेसर कुलमान र महावीर, जगदीशलाई लिनैपर्छ भनेर दबाब आयो।’
जेनजीको प्रेसर छ भनेर आफूले नै उनीहरूलाई मन्त्री हुन आग्रह गरेको पनि प्रधानमन्त्री कार्कीले बताइन्।
‘मैले नै उहाँहरूलाई हात जोडेर जेनजीको प्रेसर छ, जतिदिन बस्नुहुन्छ बसिदिनुस् भनेर मन्त्रीमा ल्याएको हो। त्यसमा बब्लु गुप्ता भन्ने पनि जेनजीबाटै नाम आएको हो। यिनीहरू लोकप्रिय मानिस हुन् र राजनीतिमा जान्छन् भन्ने हामीलाई थाहा थियो,’ उनले भनिन्, ‘सरकारमा बसिबसि कोही चुनाव लड्छ भने बेइमानी हुन्छ। जुन दिन राजनीतिमा जान्छौं त्यो दिन राजीनामा दिएर जाऊ, हामी विदाइ गरिदिन्छौं भनेर हामीले भनेका थियौं।’
महावीर पुनलाई सुदन गुरूङले अँगालो हालेर ल्याएको पनि उनले बताइन्।
‘जगदीश, बब्लु युवा छन्। उनीहरू चुनावमा जान पाउँदैनन् भन्ने मलाई लाग्दैन। उनीहरूलाई दोष नलगाउनुस्,’ उनले भनिन्, ‘उनीहरूले बेइमानी गरेका छैनन्। राजनीतिमा जान सक्छन्। यहाँहरूलाई खुलाइदिएँ- जेनजीको प्रेसर थियो उहाँहरूलाई मन्त्री बनाउने। उनीहरूको प्रेसर थियो हामी चाहेका बेला निस्केर जान्छौं भन्ने। त्यसकार उनीहरू गए। उनीहरू सम्पर्कमा छैनन्। कुनै माग गरेका छैनन्। चुनावमा भाग लिएका छन्।’
महावीर पुन भने रिसाएर हिँडेको उनले बताइन्। दुई चार वटा कानुन बनाउन माग गरे पनि त्यो कानुन बनाउन नसकिएको पनि प्रधानमन्त्री कार्कीले बताइन्।
मन्त्रीमध्ये २ जना रास्वपामा गएको पनि उनले बताइन्। सबै एकै पार्टीमा नगएको उनको भनाइ छ।