नेकपा एमालेले सामाजिक सञ्जालमार्फत् चुनावी प्रचार–प्रसारमा बढ्दो दुरूपयोग भएको भन्दै चिन्ता प्रकट गरेको छ।
केन्द्रीय प्रचार विभागले आज विज्ञप्तिमार्फत् सामाजिक सञ्जाल दुरुपयोग भएको भन्दै चिन्ता व्यक्त गरेको हो।
‘नेकपा एमाले प्रविधिको उच्चतम विकासका बारेमा जानकार छ र त्यसको रचनात्मक प्रयोगप्रति सजग रहेको विषय उल्लेख गर्न चाहन्छौं। निर्वाचन प्रक्रियाअन्तर्गत देशभर सञ्चालन भइरहेका गतिविधिहरू, प्रचार–प्रसारका शैली, व्यवहार तथा अभिव्यक्तिहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। लोकतान्त्रिक मूल्य–मान्यता, मर्यादा र निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छौं। प्रविधिको प्रयोग गैर–जिम्मेवार र गैर–राजनीतिक ढंगले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ,’ एमालेले भनेको छ।
विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिह्नका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरूपयोग भएरहेको एमालेले जनाएको हो। यसमार्फत् पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको पनि एमालेले जनाएको छ।
‘नेकपा (एमाले) को निर्वाचन चिह्न परिवर्तन लगायतका भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो कोहीलाई पनि कानुनको दायारामा ल्याउन हामी जोडदार माग गर्दछौं।
यसै क्रममा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का श्रद्धेय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लंघन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति आपत्ति प्रकट गर्दै यस्ता असभ्य, गैरराजनीतिक र आपत्तिजनक अभिव्यक्तिहरूको कडा शब्दमा भत्र्सना तथा निन्दा गर्दछ। र, यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई विनम्रतापुर्वक अनुरोध गर्दछ,’ एमालेले भनेको छ।
त्यस्तै एमालेले निर्वाचनका लागि शान्ति–सुरक्षाको वातावरण बनिनसकेकोप्रति चिन्ता व्यक्त गरेको छ। भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार नभएको एमालेले बताएको छ।
‘आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका लागि प्रमुख मेरूदण्ड हो भन्ने विषयमा नेकपा (एमाले) स्पष्ट छ। जनताद्वारा, जनताका लागि र जनताले शासन गर्ने प्रणालीमा विधिको शासन, शान्ति–सुरक्षा, अमन चयन र अभिव्यक्ति स्वतन्त्रता यसका प्रमुख आधारस्तम्भ हुन्। तसर्थ, प्रत्येक मताधिकार प्राप्त नेपाली नागरिकले स्वतन्त्र भयरहित र निर्भिकतापूर्वक मतदान गर्न पाउने वातावरण निर्माण गर्ने प्रथम दायित्व सरकारको हो। प्रत्येक मतदाताले मतपेटीकासम्म समान ढंगले सहज पहुँच र सुरक्षित वातावरणमा मतदान गर्न पाउनु उसको संवैधानिक अधिकार हो तर आजका दिनसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन सकिरहेको छैन र त्यतातर्फ गम्भीर बनेको पाइएको छैन,’ एमालेको ठहर छ।
देशका विभिन्न जेल तथा सुधार–गृहबाट भागेका कैदीबन्दीहरू अझै फरार रहेको हातहतियार र गोलीगठ्ठा बाहिरै रहेको एमालेले बताएको छ।
राजधानीमै संगठित लुटपाट र चोरीका घटनाहरूमा बृद्धि भइरहेको छ भने बाराको परवानीपुरमा घरभित्रै पसेर आक्रमण गरी हत्या गरेका घटनाले शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको एमालेले बताएको छ।
‘तसर्थ, निर्भिकतापूर्वक मतदानको वातावरण बनाउनु अनिवार्य शर्त हो। यो विषय नेकपा (एमाले) ले सुरूदेखि नै उठाउँदै आएको छ, जसलाई सरकारले गम्भीरतापूर्वक लिइरहेको छैन। विभिन्न घटनाको शीघ्र छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन कडा सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न नेकपा (एमाले) जोडदार माग गर्दछ,’ एमालेको भनाइ छ।
एमालेले आचारसंहिताको प्रभावकारितामा प्रश्न उठेको बताएको छ।
राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता, शान्ति सुरक्षामा खलल पुग्ने गरी भइरहेका अवाञ्छित गतिविधि र समुदायलाई उत्तेजित बनाउने भडकाउपूर्ण व्यवहार र प्रचारप्रसारको शैलीप्रति निगरानी बढाउन र स्थापित कानुनी मापदण्ड अनुसार कानुनी दायरामा ल्याउन एमालेले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ।
‘अन्यथा यस्ता गतिविधिबाट समाजमा बढ्न सक्ने अराजकता, हिंसा, बिध्वंस र कानुन उल्लङ्घनका घटनाहरूप्रति सरकार र सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने विषयप्रति नेकपा (एमाले) समयमै ध्यानाकर्षण गराउन चाहन्छौं,’ एमालेले भनेको छ।