नेकपा एमालेले आगामी निर्वाचनका सन्दर्भमा पार्टीले मुलुकभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ६३ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको बताएको छ।
पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले विज्ञप्तिमार्फत कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको र प्राविधिक कारणले मनाङमा उम्मेदवारी कायम हुन नसकेको बताएका छन्।
मनाङमा एमाले उम्मेदवार पोल्देन छोपाङ गुरूङले नेपाली कांग्रेस उम्मेदवार टेकबहादुर गुरूङसँग चिट्ठा हारेका थिए।
यद्यपि निर्वाचन क्षेत्रहरूमा स्थानीय वस्तुस्थितिका आधारमा विभिन्न राजनीतिक दल वा समूहसँग संवाद र सहमति भइरहेको एमालेले बताएका छन्। ‘यो उम्मेदवारी सबै प्रकारका षडयन्त्र, जालझेल र घेराबन्दी विरुद्धको नागरिक तथा राजनीतिक खबरदारी पनि हो। विध्वंस, आगजनी र राज्य संरचनालाई खरानी बनाउनेका विरूद्ध निर्माण अर्थात बनाउने प्रतिबद्धता पनि हो,’ एमालेले भनेको छ।