नेपाली कांग्रेसका सभापति गगन थापाले युवाहरू अहिलेका साझेदार भएकोले सँगै हिँड्ने बताएका छन्।
बुधबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भनेका छन्, ‘युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन। युवाहरू अहिलेका साझेदार हुन्। सँगै हिँड्ने हो।’
उनले बदलिएको नेपाली कांग्रेस के हो भनेर एकछिन अडिएर सोच्न पनि आग्रह गरेका छन्।
‘हामीहरू नयाँ सोचका साथ आएका छौं, कांग्रेस बदलिएको भनेको सोच, संकल्प र यसको शैली बदलिएको हो,’ उनले भने, ‘नयाँ भन्नुको अर्थ पुरानोसँग सम्बन्धविच्छेद भएको भनेको हो? पटक्कै होइन। प्रजातन्त्र, सामाजिक न्याय, विविधता, समावेशी यो हाम्रो जरा हो। नयाँ कांग्रेसले यो जराहरूलाई अझ फैलाउने हो।’
हिजोका राम्रा कुराहरूलाई फैलाउने पनि उनले बताए। ‘हामीले गरेका गल्तीहरूलाई सच्याउने हो। र अब पार्टी र देश यसरी चलाउँछौं भनेर मार्गचित्र प्रस्तुत गर्ने हो,’ उनले भने।
बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसका कतिपय राम्रा कुराहरूलाई अघि बढाउने पनि उनले बताए।
‘बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिल्यै पनि राख्दैन। सिद्धान्तसँग सम्झौता गर्नुपरे बरू यसले छाड्छ। जे छाड्न परे त्यो छाड्छ। सत्तामा पुग्न र सत्ता टिकाउनका लागि जे पनि गर्ने र जोसँग पनि मिल्ने यसले गर्दैन,’ सभापति थापाले भने, ‘बरू आनन्दले सरकार बाहिर बस्छ। पार्टी भनेको चुनाव मेसिनजस्तो चुनाव लड्ने मात्र होइन। हाम्रा संस्थापकहरूले पार्टी स्थापना गर्दा पार्टी भनेको सामाजिक आन्दोलन हो भन्ने सोच्नुभयो, हामी फेरि कांग्रेसलाई त्यही ट्र्याकमा ल्याउँछौं।’
विगतमा अर्को चुनाव चिह्नमा भोट हाल्न लगाएको र पार्टी सञ्चालन गरेको तरिकामा आम नागरिकबाट गुनासा रहेको भन्दै त्यसलाई जोखिम उठाएर आफूहरूले सच्याएर आएको सभापति थापाको भनाइ छ।
‘तपाईंहरूले पार्टीमा सुधार र परिवर्तनका लागि आह्वान गर्नुभयो, हामीले काम गर्यौं। तपाईंको विश्वासमा। तपाईंले भनेअनुसार जोखिम उठाएर परिवर्तन गर्यौं, अब हामी हाम्रो हक माग्छौं,’ उनले भने, ‘तपाईंको गुनासो सम्बोधन गरेर आइसकेपछि हामी हकका साथ हामी भन्छौं- तपाईंले यसपालि हामीलाई मत दिनुपर्छ। बदलिएको कांग्रेसले तपाईंले चाहेजस्तो देश बनाउने एउटा संकल्प गरेको छ।’
पार्टी छाडेका तथा निस्क्रिय भएकाहरूलाई पार्टीमा फर्कन र सक्रिय हुन पनि सभापति थापाको आह्वान छ।
उनले उत्तेजना र घृणाको राजनीति नगर्ने पनि बताएका छन्।
‘हामी कुनै उत्तेजना र घृणाको राजनीति गर्दैनौं। हामी सबैलाई मिलाएर लैजान्छौं। मिलाउने मात्र होइन, हामी नेपाललाई सुधार्छौं पनि। नेपालको व्यवस्था बदल्छौं पनि। नेपालमा शासन गर्ने गति र मतिलाई बदल्छौं, ठिक ठाउँमा लैजान्छौं भन्ने संकल्प लिएर आएका छौं,’ उनले भने।