नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ गते हुने निर्वाचन एकैपटकमा सम्पन्न गर्न माग गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन दुई चरणमा नगर्न र एकै चरणमा गर्न माग गरेका हुन्।
‘म तपाईंलाई भन्न चाहन्छु। चुनाव हुन्छ नै। २१ फागुनमै हुन्छ। म सरकारलाई पनि के सुझाव राख्न चाहन्छु भने दुई चरण भनेर नगरियोस्, चुनाव एकै चरणमा होस्। चुनाव निष्पक्ष रूपमा हुने वातावरणको ग्यारेन्टी गरियोस्,’ उनले भने।
उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित भएमा नेकपा पहिलो पार्टी बन्न सक्ने सम्भावना रहेको पनि बताए।
‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ। सोसियल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन। यो राष्ट्रले बुझिसकेको छ राष्ट्रलाई एकतावद्ध गर्नसक्ने, सबैलाई जोड्न सक्ने अनि भ्रष्टाचारका विरूद्ध र सामाजिक न्यायका पक्षमा, सुशासन र आर्थिक विकासका पक्षमा अगाडि लान सक्ने तथा विश्वभरीका हाम्रा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेता र पार्टी को हो भने नेपाली जनताले बुझिसकेको छ। त्यसकारण यो पटक सही किसिमले निर्वाचन हुँदा हामी यो पटक सही पोजिसनमा आउँछौं,’ उनले भने।