नेपाली कांग्रेसले निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएको छ।
नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए।
उनले नेपाली कांग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताए।
उनले संसद पुनर्स्थापना लगायतका विषयमा चलेका हल्लाहरूको विषयमा कांग्रेसको कुनै टिप्पणी नभएको बताए।
निर्वाचनबाट ध्यान मोड्न त्यस्ता प्रयास भएको उनको भनाइ छ।
उनले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र कांग्रेस आफ्नै बलमा चुनाव लड्ने दोहोर्याए।
उनले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।
उनले भने, ‘हामी सम्पूर्ण रूपमा हामी चुनावी प्रणालीमा गइरहेका छौं। हामी चुनावमा नै विश्वास गर्छौं। पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ। यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अयन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन। चुनावपूर्व हाम्रो कसैसँग कुनै किसिमको गठबन्धन हुँदैन। नेपाली कांग्रेस १६५ क्षेत्रमा आफ्नो उम्मेदवार कायम छ। हामी प्रचारमा लागेका छौँ। विजयको उन्मुख पुगिरहेका छौँ।’
उनले निर्वाचनमा मतदान गर्दा विगतको इतिहास र भविष्य निर्माण गर्न सक्ने पार्टी र उम्मेदवारलाई गर्न पनि आग्रह गरे। – न्युज एजेन्सी नेपाल