अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआइबाट सिर्जित विवादास्पद भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेर हटाएका छन्।
शुक्रबार ट्रम्पको ट्रुथ सोसल अकाउन्टबाट सार्वजनिक भएको भिडिओ १२ घन्टापछि हटाइएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेको छ।
एआईबाट बनाइएको एक मिनेट लामो उक्त भिडिओको अन्तिममा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिशेल ओबामालाई बाँदरका रूपमा देखाइएको थियो।
एआई सिर्जित भिडिओमा ट्रम्पले आफूलाई सिंह र डेमोक्र्याटहरूलाई उसका सहयोगी पात्रहरूका रूपमा देखाइएको थियो।
भिडियोको अन्त्यतिर ओबामा दम्पतीको टाउको जोडेर बाँदर नाचिरहेको जस्तो देखिने एआईबाट बनाइएको दृश्य राखिएको छ।
यसमा ट्रम्पको जातिवादी मानिसकतालाई लिएर चर्को आलोचना भएपछि उक्त भिडिओ हटाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
उनीहरूले अमेरिकी इतिहासमा श्वेत नेताहरूले अफ्रिकी मूलका मानिसहरूलाई बाँदर वा वनमान्छेको रूपमा चित्रण गर्दै अमानवीकरण गर्ने प्रयास गरेका उदाहरणहरू रहेको र अहिले ट्रम्पले पनि त्यस्तै चरित्र देखाएर घृणात्मक काम गरेको आरोप लगाएका छन्।
रिपब्लिकन सांसदहरूले पनि ट्रम्पलाई माफी मागेर पोस्ट हटाउन अनुरोध गरेका थिए। रिपब्लिकन सांसदहरूले ह्वाइट हाउसमै सम्पर्क गरेर भिडिओबारे चासो राखेका थिए।
नागरिक अधिकारसम्बन्धी संस्थाहरूले ट्रम्पको अभिव्यक्तिलाई कडा शब्दमा आलोचना गरेका छन्। एनएएसीपीका अध्यक्ष डेरिक जोनसनले भने, ‘यो भिडियो खुला रूपमा जातीय विभेदपूर्ण र घृणास्पद छ।’
ट्रम्प आफैले भने उक्त भिडिओ सचिवालयबाट सार्वजनिक भएको बताएका छन्। उनी आफैले पनि भिडिओबारे निन्दा व्यक्त गरेका छन्।
ह्वाइट हाउसका एक अधिकारीले कर्मचारीको त्रुटिका कारण त्यो भिडिओ पोस्ट भएको र तुरून्तै हटाइएको भनेका छन्।
अधिकारीहरूले ती कर्मचारीको पहिचान खुलाएका छैनन्। ट्रम्पका सामाजिक सञ्जाल खातामा सीमित वरिष्ठ सहयोगीहरूलाई मात्र प्रत्यक्ष पहुँच हुने बताइएको छ।
यसअघि ह्वाइट हाउसकी प्रवक्ता क्यारोलाइन लेभिटले आलोचनालाई “नक्कली आक्रोश” भन्दै पोस्टको बचाउ गरेकी थिइन्।
ट्रम्प आफूले भिडिओ हेरेको पनि बताएका छन्।
‘मैले भिडियोको सुरुको भाग मात्र हेरेँ, अन्तिम दृश्य देखिनँ,’ उनल भनेका छन्। उनले चुनावी मेसिनसम्बन्धी धाँधलीको दाबीबारे भाग हेरेपछि सहयोगीहरूलाई पोस्ट गर्न दिएको बताएका छन्।
ओबामा पक्षका प्रवक्ताले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
ट्रम्पका निकट सहयोगी र अश्वेत रिपब्लिकन सिनेटर टिम स्कटले एक्समा लेखेका छन्, ‘यो नक्कली होस् भनेर प्रार्थना गरिरहेको छु, किनकि ह्वाइट हाउसबाट आएको यो सबैभन्दा जातीय विभेदपूर्ण कुरा हो।’