नेपाली कांग्रेसले चुनावकेन्द्रित हुने निर्णय गरेको छ।
आज भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन परिचालन निर्देशिका पारित गरेको हो।
उक्त निर्देशिकाको बुँदा नम्बर २१ मा आ-आफ्नो क्षेत्रमा खटिनुपर्ने कुरा छ।
‘फागुन २१ को आमचुनावका लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ/उसले खट्ने त्यहाँ´ नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ,’ निर्देशिकामा उल्लेख छ।
साथै संघ, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रले निश्चित जिम्मेवारीसाथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तततत स्थानमा कार्य सकेर पुन: आफ्नै जिल्ला/ क्षेत्र/ पालिका र वडामा केन्द्रित रहनुपर्ने निर्देशिकामा उल्लेख छ।
तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएकाबाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आआफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुपर्ने पनि कांग्रेसले जनाएको छ।
‘एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर `हाम्रो वडा हामी जिताउँछौ´ उद्घोषसाथ आआफ्नै वडामा खट्नुहुनेछ,’ निर्देशिकामा उल्लेख छ, ‘पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आवद्धहरूले सोही बमोजिम जिम्मेवारी निभाउनु हुनेछl’
आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका— ०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२ प्रस्तुत गरेका थिए भने उक्त निर्देशिका पारित भएको छ।
उपसभापति शर्मा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक छन्।