सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी प्रमुखबाट हटाएर केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।
नवनियुक्त प्रहरी महानिरीक्षक केसी अपराध अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन्। खासगरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको ठगी प्रकरणको अनुसन्धान अघि बढाउन खेलेको भूमिकाले उनलाई चर्चामा ल्याएको थियो।
उनी त्यही प्रहरी अधिकारी हुन्, जसले तत्कालीन राजनीतिक नेतृत्वसँग सम्बन्ध जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धानको बाटो खोलेका थिए। पछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने प्रहरी टोलीको नेतृत्व पनि केसीले नै गरेका थिए।
केसी २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन्। उनी र निवर्तमान महानिरीक्षक कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्।
२०८२ वैशाखमा एआइजीमा बढुवा भएका केसी यसअघि पनि प्रहरी महानिरीक्षकका प्रतिस्पर्धी थिए। तर तत्कालीन सरकारले उनीसहितका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीलाई प्रहरी प्रमुख नियुक्त गरेको थियो।
शरणार्थी प्रकरणको अनुसन्धानमा निर्णायक भूमिका
मनोज केसीको प्रहरी सेवाको सबैभन्दा चर्चित अनुसन्धान नक्कली भुटानी शरणार्थी प्रकरण हो।
उनी २०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर गएका थिए। त्यति बेला नक्कली भुटानी शरणार्थी बनाउने नाममा ठगिएको भन्दै उजुरी दिएका पीडितहरू लामो समयदेखि न्यायको खोजीमा थिए।
उनीभन्दा पहिले कार्यालयको नेतृत्व गरेका प्रहरी अधिकारीहरूको समयमा यो अनुसन्धान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन।
केसीले कार्यालयको नेतृत्व सम्हालेपछि पीडितहरूको कुरा सुने र प्रकरणको अनुसन्धानमा चासो देखाए। उनले एउटा सानो अनुसन्धान टोली बनाएर गिरोहका मुख्य सदस्यहरूमाथि निगरानी बढाए।
२०७९ चैत १२ गते बिहान उनको नेतृत्वमा प्रहरीले गिरोहका तीन प्रमुख सदस्य केशव दुलाल, टंक गुरूङ र सानु भण्डारीलाई पक्राउ गर्यो।
त्यो दिन नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदै थियो। निवर्तमान महानिरीक्षक धिरजप्रताप सिंह अवकाश भइसकेका थिए भने नवनियुक्त महानिरीक्षक बसन्त कुँवरले कार्यभार सम्हाल्न बाँकी थियो।
केसीले नयाँ महानिरीक्षकले कार्यभार सम्हाल्नुअघि नै तीन जनालाई पक्राउ गरेका थिए।
तीनै जनालाई प्रारम्भिक सोधपुछपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो। केसीले आफ्नो कार्यालयको प्रारम्भिक रायमा यो प्रकरणमा गृह प्रशासनसम्म अनुसन्धान पुर्याउनुपर्ने लिखित सुझाव दिएका थिए।
उक्त अनुसन्धान अगाडि बढाउने क्रममा केसीले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
तीन जना पक्राउ परेपछि अनुसन्धान तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्री बालकृष्ण खाणसम्म पुग्यो।
त्यस क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका तत्कालीन प्रमुख एआइजी श्यामलाल ज्ञवालीले अनुसन्धान अघि बढाउन सक्रिय भूमिका खेलेका थिए।
ज्ञवाली र केसीसहितको टोलीले तत्कालीन गृहसचिव पाण्डेसँग विस्तृत सोधपुछ गरेको थियो। त्यस क्रममा प्राप्त बयान र मोबाइल सन्देशहरूसमेतका आधारमा अनुसन्धान तत्कालीन गृहमन्त्री खाणसम्म पुगेको थियो।
२०८० वैशाख २६ गते राति ज्ञवाली र केसीसहितका अधिकारीहरूले खाणलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए।
भोलिपल्ट बिहान केसीकै नेतृत्वमा गएको प्रहरी टोलीले खाणलाई उनको निवासबाट पक्राउ गरेको थियो। उक्त कारबाहीमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पनि संलग्न थियो।
उक्त प्रकरणमा पूर्वगृहमन्त्री र पूर्वगृहसचिवसम्म अनुसन्धान पुर्याउन केसीले खेलेको भूमिकाले उनलाई अपराध अनुसन्धानमा चर्चित प्रहरी अधिकारीका रूपमा स्थापित गर्यो।
सिआइबीदेखि विशेष ब्युरोसम्मको जिम्मेवारी
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट चर्चामा आएका केसीले त्यसपछि नेपाल प्रहरीको विशेष ब्युरोको नेतृत्व पनि सम्हाले।
विशेष ब्युरो प्रमुख हुँदा उनको कार्यकाल भने लामो रहेन। २०८१ साउनमा उनी ब्युरोको नेतृत्व सम्हालेको करिब दुई महिनामै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भए।
त्यसअघि विशेष ब्युरोले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी प्रतीक थापालाई पक्राउ गरेको थियो। सोही प्रकरणका अर्का आरोपी बेचन झालाई पक्राउ गर्न उनको टोलीले सहयोग गरेको आशंकामा तत्कालीन गृहमन्त्री रमेश लेखकले केसीलाई सरुवा गरेको दाबी त्यति बेला सार्वजनिक भएको थियो। तर सरुवाको कारणबारे सरकारले त्यसरी औपचारिक पुष्टि गरेको थिएन।
पछि उनी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत रहे।
२०८२ असोज ५ गते सरकारले उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुखको जिम्मेवारी दियो। त्यस बेला गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका थिए।
सिआइबी प्रमुख रहँदा केसीको नेतृत्वमा विभिन्न आर्थिक तथा संगठित अपराधसम्बन्धी अनुसन्धान अघि बढे।
यस क्रममा बैंकिङ कसुर, दूरसञ्चार कम्पनीको सम्पत्ति कारोबार, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी र सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाहरू अनुसन्धानको दायरामा आएका थिए।
पर्यटकको नक्कली उद्धार कागजात बनाएर बिमा रकम ठगी गरेको आरोपमा २०८२ माघमा विभिन्न उद्धार तथा चार्टर कम्पनीसँग सम्बन्धित छ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उक्त अनुसन्धानबारे सीआइबी प्रमुखका रूपमा केसीले जानकारी दिएका थिए।
त्यसपछि २०८३ असार २२ गतेदेखि केसीले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका थिए। महानिरीक्षक नियुक्त हुनुअघि उनी यही विभागका प्रमुख थिए।
केसीले आफ्नो सेवाकालमा मोरङ र रूपन्देही जिल्ला प्रहरी कार्यालयको नेतृत्व पनि गरिसकेका छन्।
प्रहरी अनुसन्धानसँगै विद्यावारिधि
केसीको अर्को परिचय प्राज्ञिक पृष्ठभूमि हो।
उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। उनको अनुसन्धान नेपालमा बदलिँदो परिस्थितिमा प्रहरी सेवा र नागरिक सुरक्षासम्बन्धी विषयमा केन्द्रित थियो।
उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाटै व्यावहारिक द्वन्द्व रूपान्तरण अध्ययनमा पनि स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
केसी नेपाल प्रहरी कर्मचारी कलेजका संस्थापक निर्देशकसमेत हुन्। उक्त संस्थामा प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम विकासमा उनले भूमिका खेलेका थिए।
उनले प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण दिनुका साथै विश्वविद्यालयहरूमा अतिथि अध्यापकका रूपमा पनि काम गरेका छन्।
उनका Enhancing Policing in Nepal र संगठित अपराध नियन्त्रणसम्बन्धी अनुसन्धानमूलक कृति प्रकाशित छन्।
अन्तर्राष्ट्रिय अनुभवतर्फ उनी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा खटिएका थिए।
नेपाल प्रहरीको आधिकारिक परिचयअनुसार उनी नेपाली, अंग्रेजी, फ्रान्सेली र स्पेनी भाषा जान्दछन्।
करिब २८ वर्ष प्रहरी सेवामा बिताएका केसी अब संगठनको सर्वोच्च नेतृत्वमा पुगेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहसम्म अनुसन्धान पुर्याउन भूमिका खेलेका केसीले अब सिंगो प्रहरी संगठनको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्।