राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई कमजोर नठान्न आग्रह गरेका छन्।
उनले राप्रपालाई निषेध गरेर जान नसकिने पनि बताए।
काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार कुन्ति पोखरेलको घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘अहिले भर्खरैको यहाँ सानो अवरोध गर्ने प्रयास गरेको कुरा पनि मैले सुनिसकेको छु। मेरो जानकारीमा आएको छ। हाम्रो ज्ञानबहादुर शाही माथिको अवरोध गर्ने प्रयासका कुरा यी सबै जानकारीमा आएको छ।’
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठाने हुन्छ पनि भनेका छन्।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै विदेशीहरूले बनाइदिएको राजनीतिक पार्टी होइन। कसैको जुठो कुरो खाएर विदेशीहरूको आशीर्वादबाट बनेको पार्टी होइन। नेपाली धर्तीमा उत्पन्न भएको र संघर्षबाट निर्माण भएको पार्टी हो र त्यस प्रकारका सबै चुनौतीहरूको सामना गर्ने सामर्थ्यका साथ तयार भएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिस्काउने प्रयास कसैले नगर्नु भनेर म भन्न चाहन्छु,’ उनले भने।
फरक प्रसंगमा बोल्दै उनले सरकारले दुर्गा प्रसाईंमाथि पटक पटक अवरोध सिर्जना गर्ने र दु:ख दिने काम भइरहेको पनि बताए।
‘कसैलाई भेला हुने, हिँड्ने, डुल्ने आफ्नो कुरा भन्ने अधिकारबाट रोक्न सकिने व्यवस्था यो संविधानमा छैन। यो संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता, प्रकाशनको स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता र विरोधको सुविधा समेत संविधानले सुनिश्चित गरेको छ। अहिले कुनै पनि नागरिकले यो निर्वाचन उपयुक्त छैन, यो निर्वाचनमा बहिष्कार गर्छु, यो निर्वाचनमा म भाग लिदिनँ, यो निर्वाचन हुनु हुँदैन भनेर विरोध गर्न पाउने अधिकार राख्दछ र त्यसलाई कसैले रोक्न मिल्दैन,’ उनले भने, ‘शान्तिपूर्ण हुनुपर्छ त्यति मात्रै हो कसैले हिंसात्मक काम गर्न पाइदैन तर विरोध गर्न पाइने व्यवस्था कायमै छ यो संविधानले सुनिश्चित गरेको विषय हो र अहिले जुन प्रकारले दुर्गा प्रसाई माथि ज्यादती गरिराखेको छ त्यसको म फेरि पनि भर्त्सना गर्न चाहन्छु।’
(न्युज एजेन्सी नेपाल)