राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईंलाई सरकारले दु:ख दिएको बताएका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै र हिजो एक विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले प्रसाईंलाई सरकारले दु:ख दिइरहेको बताएका हुन्।
‘कसैलाई भेला हुने, हिँड्ने, डुल्ने आफ्नो कुरा भन्ने अधिकारबाट रोक्न सकिने व्यवस्था यो संविधानमा छैन। यो संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता, प्रकाशनको स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता र विरोधको सुविधा समेत संविधानले सुनिश्चित गरेको छ। अहिले कुनै पनि नागरिकले यो निर्वाचन उपयुक्त छैन, यो निर्वाचनमा बहिष्कार गर्छु, यो निर्वाचनमा म भाग लिदिनँ, यो निर्वाचन हुनु हुँदैन भनेर विरोध गर्न पाउने अधिकार राख्दछ र त्यसलाई कसैले रोक्न मिल्दैन,’ लिङ्देनले भने, ‘शान्तिपूर्ण हुनुपर्छ त्यति मात्रै हो कसैले हिंसात्मक काम गर्न पाइँदैन तर विरोध गर्न पाइने व्यवस्था कायमै छ यो संविधानले सुनिश्चित गरेको विषय हो र अहिले जुन प्रकारले दुर्गा प्रसाई माथि ज्यादती गरिराखेको छ त्यसको म फेरि पनि भर्त्सना गर्न चाहन्छु।’
साथै उनले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक प्रसाईंलाई दु:ख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटक पटक पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्।
‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध सॅाध्नु अनुचित मात्र होइन नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ। प्रसाईलाई बिना शर्त अबिलम्ब रिहा गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ अध्यक्ष लिङ्देनले भनेका छन्।
निर्वाचन आचारसंहितालगायत कारण देखाउँदै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो।