बंगलादेशमा बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले बहुमत ल्याउने निश्चित भएको छ।
कुल ३०० निर्वाचन क्षेत्रमध्ये २९९ सिटका लागि बिहीबार भएको मतदानबाट बिएनपीले बहुमत ल्याउने निश्चित भएको बंगलादेशका सञ्चारमाध्यमहरूले जनाएका छन्।
ढाका ट्रिब्युनका अनुसार बिएनपी र उसँग गठबन्धन गरेका दलका उम्मेदवारहरूले १५० स्थानमा जित हासिल गरिसकेका छन् भने गणना भइरहेको धेरै सिटमा पनि उसकै उम्मेदवारहरूले अग्रता लिएको छ।
यसअनुसार बिएनपी दुई तिहाईतर्फ नै अगाडि बढेको भनेर अर्को बंगलादेशी मिडिया द डेली स्टार ले जनाएको छ।
बिएनपी केन्द्रीय निर्वाचन सञ्चालन समितिका प्रवक्ता महदी अमिनले पनि अहिलेसम्म आएका नतिजा र जारी गणनाअनुसार दुई तिहाईको सरकार बन्नेप्रति आशावादी रहेको बताएका छन्।
बिएनपी अध्यक्ष तारिक रहमान र महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरले आ-आफ्नो क्षेत्रमा जितेका छन्।
तारिक रहमान ढाका–१७ र बोगुरा–६ दुवै क्षेत्रबाट निर्वाचित भएका छन्।
तारिक पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्। खालिदाको गत महिनामात्रै निधन भएको थियो।
गत पुसतिर मात्रै तारिक बंगलादेश आएका थिए। सन् २००८ मा उपचारका लागि बेलायत गएका उनी त्यसयता उतै बस्दै आएका थिए। बंगलादेशमा अन्तरिम सरकार बनेर चुनाव हुने भएपछि उनी स्वेदेश फर्किएका थिए।
ढाका ट्रिब्युनका अनुसार प्रारम्भिक प्रवृत्तिले जमात–ए–इस्लामी ४३ सिटसहित मुख्य प्रतिपक्ष बन्ने देखाएको छ।
डेली स्टारले भने जमात र उसका सहयोगीले ६० सिट जित्ने दाबी गरेको छ।
विद्यार्थी आन्दोलनबाट उदाएको नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले ६ सिट जितेको दाबी गरेको छ। एनसीपी संयोजक नाहिद इस्लामले ढाका–११ मा अग्रता लिइरहेका छन्।
निर्वाचन आयोगले अन्तिम आधिकारिक नतिजा सार्वजनिक गरिसकेको छैन। मतगणना जारी रहेकाले परिणाम क्रमशः आउने क्रममा छन्।
निर्वाचन आइतबार बिहान ७:३० बजेदेखि साँझ ४:३० बजेसम्म देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
निर्वाचनसँगै जुलाई नेशनल चार्टरसम्बन्धी जनमतसंग्रह पनि भएको छ।
यसमा संविधान संशोधन, कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच शक्ति सन्तुलन मजबुत बनाउने व्यवस्था, निर्वाचन प्रणालीमा सुधार, मानवअधिकार र जबाफदेहिता सुनिश्चित गर्ने प्रावधान र भ्रष्टाचार नियन्त्रण तथा संस्थागत पारदर्शीता अभिवृद्धि गर्ने विषयहरू समावेश छन्। जनमतसंग्रहबाट संविधान संशोधनको पक्षमा ६५.३ प्रतिशत मतदान भएको छ।