महिला सांसद
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पुष्पाकुमारी चौधरीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा समेटिएको थियो। तर त्यति बेला उनी संसदमा पुग्ने गरी पार्टीले मत पाउन सकेन।
यसपालि भने उनी मधेस प्रदेशको सप्तरी-१ बाट चुनाव जितेर प्रतिनिधिसभा सदस्य भएकी छन्।
यसपटक रास्वपाका पक्षमा देशव्यापी लहर चल्दा मधेसमा सबभन्दा ठूलो प्रभाव देखियो। मधेसका ८ जिल्लाका ३२ सिटमध्ये ३० क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भए। ३६ वर्षीया पुष्पाले पनि अघिल्ला चुनावमा मधेसवादी दलहरू बलियो रहेको सप्तरी-१ बाट ३८ हजार १९५ मत ल्याएर आफ्नो संसदीय यात्रा निश्चित गरेकी छन्।
पुष्पाका निकट प्रतिस्पर्धी स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ मत ल्याएका थिए भने अन्य दलहरू त्योभन्दा निकै पछाडि थिए।
'देशको वर्तमान अवस्था र जनताको अपेक्षासँग हामीले उठाउँदै आएको मुद्दा मिल्न गएकाले नै म विजयी भएकी हुँ,' सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्, 'हामीले उठाउँदै आएको मुद्दामा जनताले यसपटक मतमार्फत समर्थन गर्नुभएको छ। उहाँहरू खुसी भएपछि म पनि खुसी नै छु।'
कञ्चनरूप नगरपालिका–११, ठेलियाकी पुष्पाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। परिवार नियोजन र महिला स्वास्थ्यसँग सम्बद्ध गैरसरकारी संस्थाहरूमा लामो समय काम गरेको अनुभव उनीसँग छ।
आफ्नो त्यही अनुभवका आधारमा प्रतिनिधिसभा सांसदका रूपमा काम गर्न सहज हुने उनको आशा छ।
'मैले स्वास्थ्य क्षेत्रमा काम गरेँ, सानोतिनो व्यापार पनि गरेँ,' उनले भनिन्, 'त्यस क्रममा मैले आफ्नो क्षेत्रको समस्या बुझेको छु। यहाँका मान्छेको आधारभूत समस्या के हो भन्ने देखेको छु, भोगेको छु। अब ती समस्या समाधानका लागि भूमिका खेल्नु मेरो मुख्य दायित्व हुनेछ।'
पुष्पाका अनुसार मधेसका बहुसंख्यक क्षेत्र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत समस्यासँग जुधिरहेको अवस्थामा छन्। पोषणदेखि महिला सुरक्षाको चुनौती पनि धेरै छ। आफ्नो मुख्य चासोमा पर्ने विषयहरू यिनै भएको उनी बताउँछिन्।
'यसबाहेक सुशासन हाम्रो मुख्य मुद्दा हो। यसबारे म संसदमा नियमित आवाज उठाउनेछु,' उनले भनिन्।
मधेसका महिलाले भोगिरहेका दाइजो प्रथादेखि अन्य सबैखाले विभेदविरूद्ध सदनमा आवाज उठाउने उनको भनाइ छ।
'कृषि क्षेत्रको सुधारका लागि पनि मेरो भूमिका रहनेछ,' उनले भनिन्, 'सिँचाइ सुविधादेखि किसानले पाउनुपर्ने अन्य सुविधाका लागि पनि म निरन्तर पहल गर्नेछु।'
थारू समुदायकी यी युवा जनप्रतिनिधिका अनुसार राजनीतिमा आउनेबारे उनको कुनै ठूलो योजना थिएन। देशभित्र मौलाएको कुशासनले नै राजनीतिमा लाग्न प्रेरित गरेको उनी बताउँछिन्।
'देशका लागि केही गरौं भन्ने त थियो, तर सांसद नै बन्छु भन्ने सपना थिएन। अब जनताले विश्वास गरेपछि त्यो भूमिकामा खरो उत्रने प्रयास गर्नेछु,' पुष्पाले भनिन्।
यसअघि आफूले निर्वाह गरेका सबैजसो जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको उनको दाबी छ।
पुष्पाका अनुसार उनले यसअघि थारू समुदाय केन्द्रमा युवा सचिवका रूपमा काम गरेकी थिइन्। स्वास्थ्य क्षेत्रमा काम गर्दा गर्दै रास्वपासँग जोडिएकी उनी जनअपेक्षा अनुसार नै पार्टी र सरकार अघि बढ्नुपर्ने बताउँछिन्।
'हामीले दिएका सुशासनका वाचाहरूमा जनमत विश्वस्त भएकाले अहिलेको बहुमत हासिल भएको हो,' उनले भनिन्, 'अब हाम्रो पार्टीले त्यसै अनुसार काम गर्नुपर्छ, गर्नेछ।'