पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा भदौको जेनजी आन्दोलनमा चितवनमा क्रियाशील प्रमुख राजनीतिक दलका कार्यकर्ताहरू नै तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न भएको उल्लेख गरेको छ।
कतिपय कार्यालय तोडफोड र आगजनीमा सुरूमा भीड नेतृत्व गर्नेमा मुख्य दलका नेता/कार्यकर्ताकै संलग्नता रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार भदौ २३ र २४ गते भएका उग्र प्रदर्शनहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा (विप्लव समूह), नेकपा (बहुमत) समूहका जिल्ला तथा नगर स्तरका नेता–कार्यकर्ताहरूको प्रत्यक्ष उपस्थिति र नेतृत्व देखिएको थियो।
सुरूमा युवाहरूको स्वस्फूर्त सहभागिता देखिए पनि पछि ज्यालामजदुरी गर्ने समूह, कवाडी संकलन गर्ने समूह, सर्वसाधारण, आपराधिक समूह, सबैको सहभागिता रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।
'जिल्लामा क्रियाशील रास्वपा, एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा (विप्लव समूह), नेकपा (बहुमत) का जिल्ला–नगर तहका नेता–कार्यकर्ताको प्रत्यक्ष संलग्नता देखिएको र कतिपय कार्यालय तोडफोड र आगजनीमा सुरूमा भीड नेतृत्व गर्नेमा मुख्य दलका नेता–कार्यकर्ता संलग्नता रहेको देखिन्छ। सरकारी कार्यालय लक्षित गर्नेमा रास्वपा, नेकपा विप्लवका बढी देखिन्थे भने व्यक्तिकेन्द्रित एमाले, माओवादी, नेकपा, राप्रपा, विप्लव समूहकाले विगतदेखि आफूलाई रिस उठेका व्यक्ति लक्षित आक्रमण गरेको देखिन्छ,' प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनमा थप भनिएको छ, 'सुरूमा घरमा ढुंगा हान्ने, सिसा फोड्ने र बिस्तारै कार्यालय–घरभित्रै गएर तोडफोड–आगजनी गर्ने गरेको पाइयो। जिल्ला अदालत, सरकारी वकिल कार्यालयहरूमा आपराधिक व्यक्ति र तिनका आफन्तले समेत मिसिल जलाउने गरेको पाइयो। जिल्ला प्रशासन कार्यालयजस्ता कार्यालयमा सरकारप्रतिको असन्तुष्टि र अघिल्लो दिन (भदौ २३ गते) को घटनाको प्रतिकारात्मक बदलाजस्तो देखिन्थ्यो। जिल्लामा क्रियाशील राजनीतिक दल, तिनका भ्रातृ संगठनले नै विशेषतः तोडफोड आगजनीमा भाग लिएको बुझिन्थ्यो।'
चितवनमा क्षति मूल्यांकन समितिले पेस गरेको प्रतिवेदन अनुसार १ अर्ब ६१ करोड ८४ लाख २१ हजार ८४० रूपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ। यसमा पूर्ण रूपमा क्षति पुगेको भाटभाटेनी सुपर मार्केटको क्षतिको विवरण समावेश छैन।
प्रदर्शनकारीले चितवनमा ५३ वटा सरकारी कार्यालय, ७४ वटा पालिका तथा वडा कार्यालयका भवनहरूमा तोडफोड र आगजनी गरेका प्रतिवेदनमा उल्लेख छ।
यस्तै, ६ वटा राजनीतिक दलका कार्यालय, ५१ वटा निजी भवन, एउटा सञ्चार संस्था, ८६ वटा चारपांग्रे र १०६ वटा दुईपांग्रे सवारी साधन तोडफोड भएको उल्लेख छ।
आगजनी क्रममा भवनभित्र सामान लिन छिरेका एक जना भारतीय मूलका सहित दुई जना प्रदर्शनकारीको जलेर मृत्यु भएको पनि उल्लेख छ।
यस्तै, सुरक्षा निकायको ध्यान अन्यत्र मोडिएको मौका छोपी चितवन कारागारबाट ७५० कैदीबन्दी फरार भएकामा ६१४ जना मात्रै फर्किएको प्रतिवेदनमा उल्लेख छ।