नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाल प्रहरीलाई बन्दुक होइन, लाठी मात्र उपलब्ध गराउन प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङलाई आग्रह गरेका छन्।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बिहान गरिएको पक्राउविरूद्ध एमालेको आन्दोलन सुरू भइसकेकाले त्यस क्रममा मानवीय क्षति हुन नदिन प्रहरीलाई लाठी मात्र उपलब्ध गराउन उनले आग्रह गरेका हुन्।
'आन्दोलन सुरू भइसकेको अवस्था छ। बन्दुक प्रयोग भएमा मानवीय क्षति हुन सक्छ, जसको जिम्मेवारी अन्ततः सरकारकै नेतृत्वले लिनुपर्छ,' एमाले सचिव बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'त्यसपछि आयोग गठन भई अनुसन्धान हुँदा प्रधानमन्त्री र गृहमन्त्री सम्हाल्ने स्वयं तपाईंहरू नै जेल यात्रामा जानुपर्छ।'
ओलीलाई पक्राउ गरिएको विरोधमा एमालेले सुरू गरेको आन्दोलनले शनिबार दिउँसो काठमाडौं केही अशान्त बनेको थियो। माइतीघर-बबरमहल सडक खण्डमा एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए। प्रदर्शन क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार बबरमहलमा केही प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरीसँग धकेलाधकेल पनि भएको थियो।
प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका थिए।