नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले अहिले सडक आन्दोलनमा छ।
नेता पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् ७७ जना नेपालीको ज्यान जानु सामान्य कुरा नभएको, त्यो पीडा वास्तविक भएको र पीडित परिवारको न्यायको माग जायज रहेको बताएका हुन्।
तर न्याय स्थापित प्रक्रियाबाट हुनुपर्ने उनको धारणा छ।
‘जहाँ आरोप र प्रमाणको सही परीक्षण होस्। केही व्यक्तिमाथि मात्र सबै सजाय थुपार्ने यो हतारो न्यायका लागि हो कि राजनीतिक सन्देशका लागि?,’ उनले सरकारलाई प्रश्न गरेका छन्।
आफूलाई एमालेका कार्यकर्ताको चिन्ता रहेको बताउँदै पार्टीलाई जीवन सुम्पेका ती हजारौं कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका हुन्।
‘त्यसैले न्याय होस् – तर निष्पक्ष र प्रक्रियागत,’ उनले भनेका छन्।