शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ।
प्रहरीले जरुरी पुर्जी थमाएर उनीहरूलाई पक्राउ गरेको थियो।
त्यसरी जरूरी पुर्जी थमाएर पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन्।
गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ओली र लेखकलाई दोषी देखाउँदै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको थियो। गौरीबहादुर कार्की नेतृत्वको उक्त जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले उनीहरूलाई शनिबार बिहान पक्राउ परेको थियो।
अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। लेखकलाई प्रहरीको दुई नम्बर गणमा राखिएको छ।