पूर्व ऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्।
आइतबार बिहान सिआइबीले बूढानीलकण्ठस्थित उनकै निवासबाट खड्कालाई पक्राउ गरेको हो।
उनलाई जरूरी पक्राउ पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको थियो।
'तपाईंलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा ६) सँग सम्बन्धित बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको छ,' जरूरी पक्राउ पुर्जीमा भनिएको छ।
सिआइबी प्रमुख एआइजी मनोज केसीले भदौ २४ गते खड्काको घरबाट प्रदर्शनकारीहरूले पैसा उडाएको भिडिओ सार्वजनिक भएको विषयमा अनुसन्धान हुने जानकारी दिए।
के हो जरूरी पक्राउ पुर्जी?
पक्राउ गर्ने प्रक्रिया मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९ मा उल्लेख छ। उक्त दफामा पक्राउसम्बन्धी दुईवटा व्यवस्था छन्।
पहिलो व्यवस्था अनुसार कुनै पनि कसुर गरेको आरोपमा पक्राउ गर्नुअघि अदालतको स्वीकृति लिनुपर्छ। दोस्रो, कसुरदार भागेर जाने, फेरि पकाउ गर्न नसकिने र प्रमाण नष्ट गर्न सक्ने अवस्था भए प्रहरीले जरूरी पक्राउ पूर्जी जारी गर्न सक्छ। जरूरी पक्राउ पूर्जीको यस्तो व्यवस्था दफा ९ को उपदफा ६ मा उल्लेख छ।
'कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नभए, त्यस्तो व्यक्ति भाग्ने, उम्कने वा निजले प्रमाण दसी वा सबुत नष्ट गर्ने मनासिब कारण भए अनुसूची ९ बमोजिमको ढाँचामा तत्कालै पक्राउ पूर्जी जारी गरी स्वीकृतिका लागि पक्राउ गरेको व्यक्तिसहित मुद्दा हेर्ने अधिकारीसमक्ष पेस गर्नुपर्ने छ,' उक्त उपदफामा भनिएको छ।
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई शनिबार बिहान यही उपदफाको व्यवस्था अनुसार पक्राउ गरिएको हो।
जरूरी पक्राउ पूर्जी थमाएर पक्राउ गरेपछि २४ घन्टाभित्र अदालतमा पेस गर्नुपर्ने हुन्छ। ओलीलाई शनिबार बिहान पक्राउ गरिएको छ। पक्राउ पर्दा सार्वजनिक विदा पर्यो भने २४ घन्टा लागू हुँदैन। कार्यालय खुलेपछि अदालत पुर्याउनुपर्छ।
