सम्पत्ति शुद्धीकरण विभागले तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' माथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरू गरेको विषयले आइतबार व्यापक चर्चा पाइरहेको छ।
आइतबार बिहानै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सम्पत्ति शुद्धीकरण कसुरमै अनुसन्धान गर्न पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गरेको थियो। त्यसपछि नै तीन पूर्वप्रधानमन्त्रीविरूद्ध पनि अनुसन्धान सुरू गरिएको कुरा बाहिर आएको हो।
हामीले यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सिआइबीसँग कुरा गरेका छौं।
विभागका सूचना अधिकारी जितेन्द्र अधिकारीले जेनजी आन्दोलनलगत्तै ओली, देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरू भएको जानकारी दिए।
'जेनजी आन्दोलनलगत्तै उहाँहरू तीन जनामाथि अनुसन्धान सुरू भएको हो,' उनले भने, 'त्यसपछि के भयो भन्ने कुरा मलाई थाहा भएन।’
पटक पटक प्रधानमन्त्री भएका यी तीन जनाको सम्पत्ति छानबिन गर्नुपर्ने माग बलियो छ। जेनजी आन्दोलन बेला नेपाली कांग्रेसका तत्कालीन सभापतिसमेत रहेका देउवाको घरमा जलेका नोटहरू देखिएको आरोप छ। देउवाले भने त्यो एआईबाट बनाइएको भिडिओ भएको दाबी गरेका छन्।
नेपाली कांग्रेस आफैले त्यसमाथि निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै आएको छ।
सिआइबी प्रमुख एआइजी मनोज केसीले पनि तीन जना प्रधानमन्त्रीको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा नयाँ प्रक्रिया अघि बढेको पुष्टि गरेनन्।
पूर्व ऊर्जामन्त्री खड्काका हकमा भने अनुसन्धानका लागि विभागबाट पत्राचार आएको र त्यसै आधारमा भदौ २४ गते उनको घरमा जलेको नोटसँग सम्बन्धित अनुसन्धान गर्न पक्राउ गरिएको उनले बताए।
विभागले जेनजी आन्दोलन भएको केही समयपछि तीन पूर्वप्रधानमन्त्री र खड्काको निवासबाट मुचुल्का समेत संकलन गरेको थियो।