भदौ २३ गते भएका घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राख्न माग गर्दै दिइएको निवेदनमा ओली र लेखक पक्षको बहस सकिएको छ।
उनीहरूलाई म्याद थपको निम्ति आइतबार बिहान काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा चलिरहेको सुनुवाइमा ओली र लेखक पक्षको बहस सकिएको हो।
अब सरकारी वकिलले बहस गरिरहेका छन्। त्यसपछि इजलासले म्याद थप्ने कि नथप्ने भनी निर्णय सुनाउनेछ।
स्वास्थ्य समस्याका कारण टिचिङ अस्पताल महाराजगन्ज भर्ना भएका ओलीलाई 'भर्चुअल' रूपमा अदालतमा पेस गरिएको थियो भने लेखकलाई भौतिक रूपमै अदालतमा लगिएको थियो।