नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिक सांसदहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ व्यवस्था विधानमै समावेश गरेकोबारे जानकारी गराएको छ।
नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई अभिमुखीकरण दिने क्रममा कांग्रेसले विभिन्न अवस्थाहरूमा जुनसुकै बेला समानुपातिक सांसदलाई फिर्ता बोलाउन सकिने व्यवस्थाबारे जानकारी गराएको हो।
उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई अभिमुखीकरणका क्रममा 'संसदीय सचेतना कार्यक्रम' अन्तर्गत बोल्दै पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने विधानको नयाँ प्रावधानबारे जानकारी गराएका हुन्।
गत पुस मसान्तमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट परिमार्जन भएको विधानको दफा ४० मा यस्तो व्यवस्था रहेको भन्दै उपसभापति शर्माले सो दफामा रहेका ४ उपदफाबारे व्याख्यासमेत गरेका थिए।
पार्टीका तर्फबाट उम्मेदवार भई समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेश सभा सदस्यलाई संसदीय जिम्मेवारीलाई प्रभावकारी र जबाफदेही बनाउन यस्तो प्रावधान राखिएको कांग्रेसको भनाइ छ।
कस्तो अवस्थामा समानुपातिक सांसदलाई कांग्रेसले फिर्ता बोलाउँछ त?
पहिलो, निजले प्रचलित कानुन विपरीत काम गरेमा l
दोस्रो, पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत काम गरेमा l
तेस्रो, कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमा l
चौथो, समानुपातिक सांसद पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्नेछl
समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउने पार्टी विधानको यो व्यवस्था निर्वाचन आयोगले दर्ता र स्वीकृति प्रदान गरिसकेको पनि कांग्रेसको भनाइ छ। साथै सांसदहरू समेतको सुझाव समेटेर निर्देशिका बनाउने तयारीसमेत रहेको पार्टीले जनाएको छ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको थियो।
नवनिर्वाचित सांसदहरूलाई कांग्रेसले शनिबार अभिमुखीकरण दिएको थियो।
कांग्रेसले संसदीय दल नेता चयन पनि गरेको छैन।