नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिले पूर्वमन्त्री तथा पार्टी नेता दीपक खड्काको पक्राउप्रति आपत्ति जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमार्फत गरिएको पक्राउलाई उसले ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ भएको भनेको छ।
जिल्ला कार्यसमितिले आइतबार जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक मूल्य, विधिको शासन र मानवअधिकारप्रति प्रतिबद्ध जिम्मेवार नेतामाथि गरिएको कारबाहीले सरकारको नियतमाथि प्रश्न उठाएको उल्लेख छ।
राज्यका निकायहरूले निष्पक्ष र पारदर्शी रूपमा काम गर्नुपर्ने संवैधानिक दायित्व विपरीत उक्त घटना भएको दाबी गरिएको छ।
कुनै व्यक्तिमाथि आरोप लागेमा कानुनी प्रक्रिया अनुसार पहिला बोलाएर अनुसन्धान गर्ने, उपस्थित गराउने र अधिकार सुनिश्चित गर्ने जिम्मेवारी राज्यको हुने उल्लेख गर्दै एक्कासी पक्राउ गर्ने शैलीले विधिको शासनमाथि नै प्रश्न उठाएको जिल्ला समितिको भनाइ छ।
विज्ञप्तिमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित पछिल्ला घटनाहरू उल्लेख गर्दै राज्य शक्ति राजनीतिक प्रतिशोधका लागि प्रयोग भइरहेको आशंका व्यक्त गरिएको छ।
फरक विचार राख्ने नेताहरूलाई लक्षित यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर पार्ने र द्वन्द्व निम्त्याउने खतरा बढाएको कांग्रेसको भनाइ छ। जिल्ला कार्यसमितिले उक्त घटनालाई विपक्षी आवाज दबाउने प्रयासको संज्ञा दिँदै यस्ता गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ।
साथै, पूर्वमन्त्री खड्कासहित सम्बन्धित नेताहरूलाई बिना शर्त रिहा गर्न पनि आग्रह गरिएको छ। सुरक्षा निकायलाई राजनीतिक दबाबमा नपरी स्वतन्त्र र कानुनी दायराभित्र रहेर कर्तव्य निर्वाह गर्न आग्रह गर्दै कांग्रेसले लोकतन्त्रको मर्म फरक विचारको सम्मान र निष्पक्ष कार्यान्वयन भएको उल्लेख गरेको छ।