नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विभिन्न भेलाहरू गर्ने तयारी गरेको छ।
राष्ट्रिय सभा र प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने, २०७८ मा भएको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राख्ने र जिल्ला सभापतिहरूको पनि भेला गर्ने गरी देउवा पक्षले तयारी गरेको हो।
गत पुसमा विशेष महाधिवेशन हुँदा देउवा पक्ष सहभागी भएको थिएन। गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीका नेताहरूलाई बालेन शाह नेतृत्वको सरकारबाट पक्राउलगायत र भावी रणनीतिलगायत विभिन्न विषयमा छलफल गरी निचोडमा पुग्न देउवा पक्षले एकपछि अर्को बैठकको तयारी गरेको नेताहरूले जनाएका छन्।
देउवा स्वदेशमा छैनन्। उनले गत असोज २८ गते नै तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका थिए। देउवा पक्षबाट खड्काले नै विभिन्न छलफलहरू राख्दै आएका छन्। देउवा उपचारका लागि हङकङमा छन्।
देउवा विदेशमा रहेका बेला उनको समूहले यहाँ विभिन्न भेलाहरू गर्न लागेको हो।
नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम आज राखिएको नेताहरूको भनाइ छ। कांग्रेसबाट प्रतिनिधि सभामा ३८ जना सांसद छन् भने गत माघमा राष्ट्रिय सभामा ९ जना निर्वाचित भएका थिए।
साथै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक मंगलबार र बुधबार राख्ने तयारीमा देउवा पक्ष छ। साथै चैत १९ गते जिल्ला सभापति भेला गरिने पनि नेताहरूले बताएका छन्।
पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको भन्दै संस्थापन पक्ष असन्तुष्ट छ। थप विज्ञप्ति जारी गरे क्रियाशील सदस्यता नवीकरण नगर्ने चेतावनीसमेत दिएको छ।
खड्काले शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि विज्ञप्ति जारी गरेका थिए। पूर्वऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक खड्का पनि पक्राउ परेका छन् तर खड्काले यसबारे भने विज्ञप्ति जारी गरेका थिएनन्।
खड्काले नेताहरू शेखर कोइराला सहितसँग कुराकानी गरेर विज्ञप्ति जारी गर्ने गरेको उनीपक्षका नेताहरू बताउँछन्। ‘हामी एकपछि अर्को बैठक गरेर विभिन्न विषयमा निष्कर्षमा पुग्छौं,’ संस्थापनइतर समूहका एक नेताले भने, ‘केन्द्रीय समिति, जिल्ला सभापतिहरूको बैठक बस्दैछ।’
तर नेताहरू यसबारे औपचारिक रूपमा कुराकानी गर्न मानेका छैनन्। संस्थापन पक्षले चैत १८ गते 'अनुशासन समितिको जरूरी बैठक' बोलाएको छ।
निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सांसदहरूलाई बधाई दिने र केन्द्रीय सदस्यहरूको बैठक बोलाइएको भन्ने जस्ता खबर सञ्चार माध्यमहरूमा देखे पनि आफूलाई जानकारी नआएको बताए।
कांग्रेसमा संस्थापन र संस्थापनइतर पक्षले समानान्तर गतिविधि गर्ने देखिएको छ।
फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि समानुपातिकमा तत्कालीन सभापति शेरबहादुर देउवा र प्रत्यक्षतर्फ सभापति गगन थापाको हस्ताक्षरमा उम्मेदवारहरू चुनाव लडेका थिए।
गगनको हस्ताक्षरमा चुनाव लडेका संस्थापनइतर पक्षका नेताहरू भने १४ औं महाधिवेशनबाट आएको केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिलाई मिलाएर १५ औं महाधिवेशन आयोजक समिति गठन गरेर जानुपर्ने बताइरहेका छन्।
कांग्रेसले असोजमा १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ। सर्वोच्च अदालतमा मुद्दा टुंगो नलागेसम्म आफूहरू नियमित महाधिवेशनमा जान नसक्ने कुरा संस्थापनइतर पक्षका नेताहरूले बताउने गरेका छन्।
यो पनि: नियमित महाधिवेशन गर्न साझा विन्दु खोजौं, आयोजक समिति बनाऔं- प्रकाशशरण महत