सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्।
उनलाई सोमबार बिहान टिचिङ अस्पताल महाराजगन्ज भर्ना गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
काठमाडौं जिल्ला अदालतले उनलाई अनुसन्धान निम्ति ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार बिहान खड्कालाई अनुसन्धान गर्न पक्राउ गरेको थियो। उनको बयान लिन सुरू भइसकेको छ।
'दिपक खड्काको बयान कार्य सुरू भए पनि उनीविरूद्ध प्रमाण बुझ्ने तथा अनुसन्धानसम्बन्धी कार्य बाँकी रहेकाले प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र त्यो बेहोरा मनासिब देखिँदा आइतबारदेखि लागू हुने गरी ७ दिन म्याद थपको अनुमति प्रदान गरिएको छ,' अदालतको आदेशमा भनिएको छ।
खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाइएको हो।